२४ मंसीर, विराटनगर।
इलामको फिक्कल ६ स्थित शिखर होटलबाट एक साताअघि चोरी भएको नगद तथा ल्यापटपसहित होटलका एक कामदारलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।
मोरङ बिराटनगर ३ मुनालपथ बस्ने २१ वर्षिय अनिश थापालाई होटलबाट हराएको सामानहरुसहित क्षेत्रीय अनुसन्धान समुहका प्रहरी नायव निरीक्षक सुनिल ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले सुनसरीको धरानस्थित होटल एम्बेसेडरको १०३ नम्बर कोठाबाट मंगलबार पक्राउ गरेको हो । प्रहरी टोलीले थापासँगै होटलमा बसेका तेह्रथुम आङदेम २ घर भई हाल दमक बस्ने १७ वर्षिया कविता लिम्बुलाई समेत अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट प्रहरीले नगद १३ हजार ६ सय पच्चीस रूपैयाँ, २ थान आईफोन फोर, १ थान सामसुङ स्मार्टफोन, १ थान Dell ल्यापटप, १ थान एडिफाइस घडी, १ थान पावर बैङ्क (मोवाइल चार्ज गर्ने), १ थान एक्सटर्नल हार्डडिस्क, २ थान मोवाइल एयरफोन र २ थान चार्जरसमेत बरामद गरेको छ ।
फिक्कलस्थित शिखर होटलमा काम गर्ने सिलसिलामा थापाले गतमंसिर १९ गते कोठा नम्बर ११३ मा बास बसेका एक बिदेशी पर्यटकको नगद १ लाख ५० हजार रूपैयाँ, Dell ल्यापटप र हार्डडिस्क चोरी गरी फरार भएका थिए । प्रहरी अनुसन्धानबाट चोरीमा उनको संलग्नता देखिएपछि उनको खोजी शुरु गरिएको थियो । थापा यसअघि पनि केही होटलहरुमा कामदार बनेर ग्राहकहरुको सामान चोरी गर्ने र फरार हुने गरेका अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका थापालाई थप अनुसन्धानपश्चात जिल्ला प्रहरी कार्यालय इलामबाट चोरी अन्तरगत म्याद थप गरी कारवाही प्रकृया अगाडी बढाइने क्षेत्रीय अनुसन्धान समुहका प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले बताए ।
Comments
Post a Comment