लिम्बू विद्यार्थी मञ्चको सातौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा



सन्देश सुब्बा इङ्वा,
११ पौष, फिदिम ।
पाँचथरको फिदिममा पौष १२, १३ र १४ गते हुन गइरहेको लिम्बू विद्यार्थी मञ्चको सातौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । आज फिदिममा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारीबारे जानकारी गराइएको हो । मञ्चको सातौं राष्ट्रिय महाधिवेशन 'मातृभाषामा व्यवहारिक शिक्षा हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान' भन्ने मूल नाराकासाथ सम्पन्न गर्न लागिएको हो ।



अधिवेशनमा लिम्बुवानका नौ वटा जिल्लासँगै त्रिभुवन विश्व विद्यालय, उपत्यकाका विभिन्न क्याम्पस तथा उच्च मावि शाखाहरुबाट करीब ५०० जना प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहने मञ्चका अध्यक्ष लक्ष्मीहाङ आङ्वोले बताए । भोलिदेखि शुरु हुने अधिवेशनको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काँइलाले गर्नेसमेत अध्यक्ष आङ्बोले जानकारी दिए । अधिवेशनको खुला शत्रमा धान नाच, च्याब्रुङ नाच साथै विविध साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने उनको भनाई छ ।
सो अवसरमा मञ्चको हालसम्मका नौजना पूर्व अध्यक्षहरुसँगै मिस नेपाल २०१४ सुविन लिम्बू, मिस लिम्बू मेरिना पोमु, शिक्षासेवी अमर तुम्याहाङ, अध्ययन अनुसन्धाता येहाङ लाओती, लिम्बू साहित्यकार भिमा खजुम, भाषासेवी मलिशा याक्थुङ्वा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १९ जना लिम्बू व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको मञ्चका महासचिव विक्रम सम्बाहाम्फेले बताए।
अधिवेशन दुई वर्षको कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दै पौष १४ गते सकिनेछ ।



Comments