छेक्न खोज्नेको हात काटिन्छ - खड्का




२७ मंसीर, दमक।
हिन्दुराष्ट्र नेपाल महाअभियानका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुम बहादुर खड्काले अब देशलाई निकास दिने एक मात्र विकल्प हिन्दु राष्ट्र स्थापना रहेको दावी गरेका छन् ।
आज शनिवार झापाको दमकमा अभियानको सुभारम्भ गर्दै खड्काले कांग्रेस, एमाले र एमाओवादीले विदेशी राष्ट्रको इसारामा डलर खाएर नेपालको पहिचान मेटाउने काम गरेको आरोप लगाए। खड्काले भने, '९४ प्रतिशत बढि ॐकारमा आस्थावान जनता भएको देशलाई नेताहरुले गुमराहमा पारेका छन्।’ अब देशभरबाट जनता हिन्दु राष्ट्र स्थापनाका लागि जागरुक भइसकेको बताउँदै खड्काले भने, 'यदि कसैले यस अभियानलाई छेक्ने प्रयास गर्छ भने हामी उनीहरुको हात काट्नसमेत तयार छौ ।’
बहुसंख्यक जनता हिन्दुराष्ट्रको पक्षमा रहेको थाह पाएपछि केही सिमित नेताहरु जनमत संग्रह गर्न डराएको खड्काको भनाई रहेको थियो । सनातन हिन्दु राष्ट्रलाई धर्मनिरपेक्षता घोषणा गरेर कांग्रेसले ठुलो गल्ती गरेकाले अब फेरी सो गलि्त नदोहोर्‍याउन समेत खड्काले चेतावनी दिए।


त्यस्तै कार्यक्रममा बोल्दै पूर्व सभामुख तारानाथ रानाभाटले नेपालीहरुको चाहना हिन्दु राष्ट्र भएकाले धर्मनिरपेक्षताले नेपालीको भावना समेट्न नसक्ने बताए। उनले विदेशीको इसारामा घोषणा भएको निरपेक्षता कार्यान्वयनको निर्णय गर्नका लागि नेपाली जनतालाई सोध्न आवश्यक रहेको बताए।
कार्यक्रममा पूर्व मन्त्रीहरु शिवराज जोशी, दुर्योधनसिंह चौधरी, पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेल, युवा नेता मोहम्मद नक्कि खाँ, अभियानका केन्द्रीय सदस्य दिल बहादुर बुढाथोकी लगायतले अब नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न नेताहरुलाई बाध्य पार्न नेपाली जनता अघि सर्नुपर्ने उल्लेख गरेका थिए ।


Comments