प्रचण्डको धम्कीबाट कोही विचलित हुँदैन - ओली




१५ पौष, दमक।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ ८ मा नै नयाँ संविधान निर्माण गर्नुको बिकल्प नभएको बताएका छन्। दोश्रो संविधानसभामा जनताले दिएको अभिमत माघ ८ मा नै संविधान ल्याउनु पर्ने भएको उल्लेख गर्दै अध्यक्ष ओलीले तोकिएको समयमा लोकतान्त्रिक संविधान आउने दावी गरे। उनले भने, 'अब नयाँ संविधान ल्याउन कसैले अवरोध गर्नुहुँदैन।' माघ ८ बाट पछि संविधान निर्माण गर्नेको कल्पना गर्नुनहुने उनको विचार थियो ।
एमाओवादी सहितका दलहरुले संविधान निर्माण हुन नदिने षडयन्त्रमा लागेको दावी गर्दै उनले त्यस्तो जनता विरोधी षडयन्त्र नेपाली जनताले प्रतिकार गर्ने बताए।
आज झापाको विर्तामोडस्थित अग्रसेन भवनमा एमाले झापाको पहिलो प्रतिनिधी परिषद बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले सवै जनताको अधिकार स्थापित हुने खालको नयाँ संविधान ल्याउनु पर्ने बताए।


बहुजाति, धर्म, भाषा, संस्कृति र जाति बसोवास रहेको यो मुलुकमा सवैको अधिकारलाई अपनत्व हुने गरी संविधान लेखिनु पर्ने उनको भनाई थियो । उनले कुनै जातिको नाममा प्रदेश बन्न नसक्ने जिकीर गर्दै यस्तो कदमले मुलुकमा थप अस्थिरता ल्याउने टिप्पणी गरे।
एक फरक प्रसङ्गमा एमाओवादीका अध्यक्ष प्रचण्डप्रति कडा टिप्पणी गर्दै उनले प्रचण्डको धम्कीबाट कोही विचलित नहुने बताए।
कार्यक्रममा एमाले संसदीय दलका सचेतक अग्नी खरेलले एकल जातिय राज्यको माग गर्नु सार्न्दभिक नभएको उल्लेख गरे। उनले बहुपहिचानका आधारमा बढीमा सात प्रदेशमा देश रुपान्तरित हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्यद्वय नरेश खरेल, रविन कोइराला लगायतकाले बोलेका थिए।
बैठक पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष संविधानसभाका सदस्य दिपक कार्कीको अध्यक्षतामा भएको थियो । भोलिसम्म चल्ने सो बैठकले पार्टीको जिल्ला अध्यक्ष चयन गर्ने बताइएको छ ।
बैठकमा जिल्लाका ८ सय बढी एमालेका पर्यवेक्षक, प्रतिनिधिहरुको सहभागीता रहेको छ ।



Comments