१ पौष, उर्लाबारी
सवारी दुर्घटना न्यूनिकरणका लागि मोरङको उर्लाबारीस्थित मंगलबारेका युवाहरुले अभियान सञ्चालन गरेका छन् । जेब्रा क्रस निर्माण र सडक दुर्घटना न्यूनिकरणसम्बन्धी चेतनामूलक कार्यक्रमको सञ्चालन गर्न लागिएको सो अभियानका संयोजक सञ्जिव बुढाथोकीले बताए ।
अभियानको पहिलो दिन मंगलबारे चोकमा जेब्रा निर्माण गरिएको छ । सडक क्षेत्रमा हुने दिनप्रतिदिनको सवारी दुर्घटनालाई मध्यनजर गर्दै आवश्यक पर्ने ठाउँहरुमा जेब्रा क्रस निर्माण गरिएको अभियानका सचिव भीष्म बुढाथोकीले जानकारी दिए। यस्तै, मंगलबारे क्षेत्रमा आवश्यक पर्ने ठाउँहरुको पहिचान गरी जेब्रा क्रस निर्माण गरिने बुढाथोकीले बताए।
जेब्रा क्रस निर्माण कार्य अझै केहि दिन जारी रहने सो अभियानका सदस्य रुमन थापामगरले बताए। डिभिजन सडक कार्यालय मोरङका सुपरभाइजर सूर्य राईले जेब्रा क्रस निर्माणका लागि चाहिने आवश्यक सिप र परामर्श दिएका थिए।
यस्तै, जेब्रा क्रस निर्माण अभियान सकिएलगत्तै विभिन्न स्कूलहरुमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रचार प्रसार संयोजक गोविन्द पोख्रेलले बताए। विभिन्न संघसंस्था, सुरक्षा निकायका प्रतिनिधिसहित चेतना जागरण अभियान सञ्चालन गरिने पोख्रेलले जानकारी दिए।

Comments
Post a Comment