पर्वतारोही शेर्मालाई गृह जिल्लामा सम्मान





सन्देश सुब्बा इङ्वा,
१२ पौष, फिदिम ।
पर्वतारोही सुशील शेर्मालाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । वि.सं. २०४५ सालमा पाँचथरको माङ्जाबुङ-३ मा जन्मिएका पर्वतारोही शेर्मालाई पहिलोपल्ट गृह जिल्लामा सम्मान गरिएको हो ।
पाँचथर उद्योग वाणिज्य संघ, गैसस महासंघ, सुनचाँदी व्यवसायी संघ, अलैंची व्यवसायी संघ, मानव अधिकार संगठन र नेपाल प्रेश युनियन पाँचथरको संयोजनमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा उनलाई सम्मान गरिएको हो । पर्वतारोही शेर्मालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभाषद भिष्मराज आङ्देम्बे र विशेष अतिथि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलसहित विभिन्न राजनीनिक दल, संघ-संस्था तथा कार्यालय प्रमुखहरुले खदा ओढाएर सम्मान गरेका थिए।




सानैदेखि पर्वतारोहणमा रुची भएको बताउने शेर्माले पहिलोपल्ट २३ सेप्टेम्बर २०११ मा सोलुखुम्बु जिल्लामा अवस्थित ६ हजार १ सय मिटर उचाइको आइसल्याण्ड पिकको सफल आरोहण गरेका थिए। त्यस्तै १७ नोभेम्बर २०१४ मा रसुवास्थित ६ हजार २ सय मिटर उचाइको लाङ्टाङ थुब्रा हिमालको समेत सफल आरोहण गरिसकेका छन्।
त्यस्तै पर्वतारोही शेर्माले नेपालकै सबैभन्दा होचो स्थान झापाको केचनादेखि ताप्लेजुङ जिल्लामा अवस्थित काञ्चनजंघा हिमालको वेशक्याम्प पाङ्पेमा सम्मको 'प्रथम मेची शान्ति पदयात्रा' समेत पूरा गरेका छन्। । २०६९ जेठ २८ देखि शुरु गरी असार ७ मा उनले सो पदयात्रा पूरा गरेका थिए।
कार्यक्रममा बोल्दै शेर्माले अब आफ्नो लक्ष्य सगरमाथाको शिखर चुम्ने रहेकाले त्यसमा सहयोग पुर्‍याइदिन आग्रह गरे । पाँचथर जिल्लाको प्रथम पर्वतारोही शेर्माले सगरमाथाको शिखर चुमेर आफ्नो जिल्लालाई चिनाउने आफ्नो सपना रहेको भन्दै गृह जिल्लामा सम्मानित हुन पाउँदा गर्व लागेको बताए।
पर्वतारोही शेर्मालाई कार्यक्रमका प्रमुख अतिथि सभाषद आङदेम्बे, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी कँडेल र पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रसाशाद काफ्लेले शुभकामना दिएका थिए ।


Comments