भारतका जैसवालले जिते ध्रुवतारा चेसको उपाधि






१५ पौष, दमक।
झापाको दमकमा सम्पन्न चौथो ध्रुवतारा कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका अनुराग जैसवालले जितेका छन्। प्रतियोगिताअन्तर्गत आज सम्पन्न नवौं चरणको खेलको समाप्तिसँगै अपराजित जैसवालले ८ अंकका साथ उपाधि जित्न सफल भएका हुन् । समान ८ अंक जोडेका नेपालका जनार्दन श्रेष्ठ भने प्रोग्रेसिभ अंकका आधारमा पछिपर्दै दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भए । नवौं चरणमा जैसवालले नेपालका विवेक थिङलाई पराजित गरे ।
उता प्रतियोगितामा उत्कृष्ट पुनरागमन जनाएका श्रेष्ठले भने भारतका विपुल सुवासीलाई पाखा लगाए ।


त्यस्तै प्रतियोगिताकै उच्च वरियताका खेलाडी भारतका इन्टरनेसनल मार्स्टस डि पि सिंह ७ दशमलब ५ अंक जोड्दै तेश्रो स्थान हासिल गर्न सफल भए । सिंहले नवौं चरणको खेलमा भारतकै आसुतोष कुमारलाई पराजित गरे ।
प्रतियोगिताको उपाधि जितेका जैसवाल र दोश्रो भएका जनार्दन श्रेष्ठले समान ४० हजार रूपैयाँ नगदसँगै ट्रफी र मेडल हात पारे । तेश्रो भएका सिंहले नगद २० हजार रूपैयाँसँगै मेडल प्राप्त गरे ।
त्यसैगरी उत्कृष्ट स्थानीय खेलाडीको उपाधि दमकका देवराज गजमेर, उत्कृष्ट पूर्वाञ्चल झापाकै विश्वविजय घिमिरे, उत्कृष्ट अनरेटेड खेलाडी नेपालका खिलराज राई र उत्कृष्ट महिला खेलाडीको उपाधि भारतकी नेहा सिंहले जितेका छन्। । प्रतियोगिताका विजेता तथा विभिन्न पुरस्कार प्राप्त गर्ने खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज पौडेलले पुरस्कार वितरण गरे ।
पौष ९ गतेबाट सुरु भएको प्रतियोगितामा नेपाल भारत र वंगलादेशका गरी १ सय ५६ जना खेलाडीको सहभागिता रहेको थियो ।
फोटो - प्रतियोगिताको उपाधिका साथ भारतका जैसवाल ।


Comments