इप्रका दमकमा फेला परेको बम निस्कृय, ताप्लेजुङमा पनि भेटियो



२८ मंसीर, दमक।
झापाको दमकस्थित इलाका प्रहरी कार्यालय छेउमा एउटा फेला परेका कुकर बमलाई निस्कृय बनाइएको छ । कार्यालयको पछाडि रहेको पर्खालको झाडीमा फेला परेको सो कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज अपरान्ह निस्कृय बनाएको हो । बम भेटिएको ४ घण्टापछि सो शक्तिशाली बम सुरक्षित तबरबाट निस्कृय बनाइएको इप्रका दमकका डिएसपी रविकुमार पौडेलले जानकारी दिए ।


आज विहान साढे ११ बजेतिर रातो जेव्रा झोलामा सो बम बेबारिसे अवस्थामा फेला परेको थियो । सो कुकर बम निस्कृय गर्न तोपगाछीस्थित नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा बम डिस्पोजल टोली आएको थियो ।
बम कसले राखेको हो, अझैसम्म खुल्न सकेको छैन् ।


उता ताप्लेजुङको खोक्लिङ ३ मा समेत एउटा सकेट बम फेला परेको छ । स्थानीय कमल लिम्बुको घरदेखि केही पर रहेको गायोको रुखको टोर्कामा लुकाई राखेको अवस्थामा सकेट बम फेला परेको हो ।
करिब चार इन्च लामो र चार इन्च नै गोलाई भएको फलामको पाइपमा कालो टेपले बेरिएको र दुईवटा तार निस्किएको सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बिहान साढे ९ बजेतिर स्थानीयवासीले रुखको टोर्कामा उक्त बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा अस्थायी प्रहरी चौकी खोक्लिङ र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकसहितको टोली खटिगई सुरक्षा दिइरहेको जनाइएको छ । नेपाली सेनासँग आग्रह गरी बम निस्कृय पार्ने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।



Comments