अख्तियार पछि लागेपछि २ दर्जन वन कर्मचारीद्वारा राजीनामा, सुरक्षाको जिम्मा सेना र सशस्त्रलाई






तेज बन विश्वासी,
९ कार्तिक, सुनसरी।
नक्कली शैक्षिक प्रमाणपत्रको विवरण पेश गरेर जागिर खाइरहेका वनकर्मचारीहरुको विषयमा अख्तियारले छानविन अगाडी बढाउने सुइँको पाएलगत्तै सुनसरीका दुई दर्जन बढी बन कर्मचारीहरुले राजीनामा बुझाएका छन् ।
पछिल्लो समय सुनसरी लगायत पूर्वी तराईका जिल्लाहरुमा अख्तियारले आफ्नो अभियानलाई तिब्रता दिएलगत्तै कार्वाहीमा पर्ने डरले बन कर्मचारी तथा शिक्षकहरुले धमाधम राजीनामा बुझाउन थालेका हुन् ।

यसरी जिल्ला वन कार्यालय सुनसरीमा राजीनामा पेस गर्ने बन कर्मचारीहरुमा फरेस्टर तिलक बस्नेत, अमलबहादुर कार्की, खड्ग श्रेष्ठ, जमदारहरु हेमनारायण यादव, श्याम श्रेष्ठ, गोविन्द निरौला, देवु आले, चन्द्रनारायण थारु, श्रीमान लिम्बु, खड्ग भुजेल, केशव कोइरला, जङ्ग मगर, लक्ष्मी चौधरी रहेको अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।
अख्तियारको कार्वाहीमा पर्ने डरले वन कार्यालयका नायव सुब्बा नारायण शार्माले समेत राजीनामा दिएका छन् ।





बन कार्यालयहरुबाट एकै दिन सोमवार २० कर्मचारीले राजीनामा दिएको अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।
जिल्ला वन कार्यालय सुनसरी श्रोतका अनुसार वन सुरक्षाका लागि खटिने कर्मचारीले एकै साथ राजीनामा दिएपछि बन क्षेत्रमा सुरक्षाका लागि तत्काल नेपाली सेना र प्रहरीको सहयोग माग्ने अवस्था आएको छ । वन सुरक्षा गर्न भनी वन मन्त्रालयले सोमवारै परिपत्र सहितको निर्देशन पठाएर सेना र प्रहरीको सहयोग समन्वयमा वन सुरक्षा गर्न निर्देशन दिइएको सुनसरीका निमित्त जिल्ला वन अधिकृत सचिन्द्र यादवले बताए ।
जिल्ला वन कार्यालय सुनसरीले आफुसँग भएको हतियार थोत्रो र पुरानो भएको भन्दै मंसिर २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीलाई भण्डारणका लागि १७ थान राइफल, ९ सय २४ थान गोली बुझाएपछि हतियारविहिन बनेका वन सुरक्षा कर्मचारीहरुले वन सुरक्षा गर्ने विषय चुनौतीपूर्ण रहिरहेको अवस्थामा कर्मचारी राजीनामा प्रकरणपछि वन सुरक्षामा थप अन्यौल उत्पन्न भएको सुनसरीका निमित्त जिल्ला वन अधिकृत यादव बताउँछन् ।


Comments