इलाका प्रशासनले माईपश्चिमका थप पाँच गाविसबासीलाई सेवा दिने





१० मंसीर, दमक।
इलाका प्रशासन कार्यालय दमकले माई पश्चिमका थप ५ गाविसका बासिन्दालाई सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको सिफारिसमा गृह मन्त्रालयले थप ५ गाविसहरुका बासिन्दालाई सेवा दिने निर्णय गरेको हो ।
अव झापाको माई पश्चिमका सतासीधाम, शिवगञ्ज, महाभारा, धरमपुर र पाँचगाछी गाविसका नागरिकहरुको नागरिकता, राहदानी आदि बनाउने काम इलाका प्रशासनमा हुने भएको छ । जनताले लामो दुरी पार गरेर चन्द्रगढी स्थित जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता बनाउन धेरै सास्ती खेप्नु परेको अवस्थालाई मध्यनजर गरी पहल गरेको सभासद दिपक कार्कीले बताए। बारम्वार मन्त्रालय धाएर गरेको पहल कदमीले ५ गाविसका जनतालाई धेरै सहज हुने उनले बताए।


इलाका प्रशासन कार्यालयका प्रमुख बासु कोइरालाले अनुसार मंसिर महिनाभित्र पूव तयारी पुरा गरी इलाका प्रशासनले सेवा दिने बताए। जिल्लाबाट नागरिकताको अभिलेख झिक्ने, रजिष्टर तयार गर्ने लगायतका काम गरी रहेको कार्यालयले जनाएको छ । संघ संस्था दर्ता, नविकरण, नावालक परिचय पत्र प्रमाणित लगायतका काम इलाका प्रशासनबाट नै हुने प्रमुख कोइरालाले बताए।
गत कार्तिक २८ गते गृह मन्त्रालयले इलाका प्रशासनलाई सेवा दिने अनुमति दिएको थियो ।
यस अघिदेखि इलाका प्रशासन कार्यालयले माई पश्चिमका १० गाविस र एक नगर पालिकाका बासिन्दालाई सेवा दिइरहेको छ । जिल्ला प्रसाशनको यस निर्णयले सेवाग्रहीहरुले चन्द्रगढी ध्याउनु पर्ने झन्झटबाट मुक्ति पाएको महाभारा गाविसकी स्थानिय महिला नेत्री कमला खड्काले बताइन् ।


Comments