दमक-मधुमल्ला जोड्ने मावा खोलामा पुल बन्ने






७ मंसीर, दमक।
झापाको दमक र मोरङको मधुमल्ला जोड्ने मावा खोलामा पक्की पुल निर्माण हुने भएको छ । द्रुत गतिमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो खोलामा पुल बन्ने तयारी भएको हो । आगामी माघ महिना भित्रमा ठेक्का लगाई २ वर्षमा पूरा गर्ने गरी पुल निर्माणको प्रारम्भीक प्रकृया अगाडी बढेको हो।
४ वर्षअघि प्रारम्भिक सर्वेक्षण भएको झापाको दमक र मोरङको मधुमल्ला जोड्ने स्थानमा अब भने पक्की पुल बन्ने आशा पलाएको छ ।
स्थानीयबासी तथा झापा र मोरङका सामुदायीक वनहरुको पहलमा २०६७ सालमा प्रारम्भीक सर्वेक्षण भएको स्थानमा आगामी माघ महिना सम्ममा पक्की पुलको ठेक्का लगाउन पहल थालिएको छ । मधुमल्लाको वडा नम्बर १ र दमकको वडा नम्बर ५ र ७ जोडिने स्थानमा पुल निर्माणबारे शनिबार सरकारको पुल आयोजनाका उच्च अधिकारी सम्मिलित टोलीले अवलोकन गरेको छ । पुल आयोजना पूर्वी क्षेत्र सेक्टर १ का डिभिजन इन्जिनियर अर्जुन अर्याल सहितको टोलीले अवलोकन गरी पुल निर्माण स्थलबारे जानकारी लिएको हो ।



डिभिजन इन्जिनियर अर्यालले ठुला पुल निर्माणसमेत गर्नकै लागि सरकारले यस वर्षदेखि सेक्टर कार्यालयको अवधारणा ल्याएको र सोहीअन्तर्गत दमक र मधुमल्ला बीचमा पुल निर्माणको प्रकृया शुरु गरिएको बताए । केही दिनमा थप प्राविधिक सहितको टोलीले अवलोकन गर्ने र माघ महिना सम्ममा ठेक्का लगाइने उनले जानकारी दिए।
प्रारम्भीक अनुमान अनुसार पुल २ सय देखि २ सय ५० मिटर लामो बन्ने छ । दुई लेनमा ठुला सवारी साधन चल्न सक्ने गरी पुल निर्माण हुने जनाइएको छ । पुलको कूल लागत बिस्तृत अध्ययनपछि मात्र यकिन हुने भए पनि पुलको दुवै किनारामा तटबन्धन सहित करिव २५ करोड रुपैयाँ लाग्न सक्ने अनुमान गरिएको छ ।
मावा पुल निर्माण समितिका अध्यक्ष हिमालयप्रसाद दाहालले मधुमल्ला र दमक जोड्ने स्थानमा पुल निर्माण भए इलाम, झापा र मोरङका १ दर्जन भन्दा बढि गाविस र नगरपालिकाका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित हुने बताए। पुल निर्माणका लागि दुवै जिल्लाका स्थानीयबासीबीच सहकार्य रहेको र सवै दलहरुमा सहकार्य रहेकोले स्थानीय स्तरबाट पुल निर्माणमा कुनै अवरोध हुन नदिइने उनले प्रतिवद्धता जनाए ।
पुल निर्माणपछि मोरङको मधुमल्ला र झापाको दमक नगरपालिकाको जनघनत्व पनि बिस्तार हुने तथा यस क्षेत्रको व्यापारिक बृद्धि विकासमा नै थप टेवा पुग्ने यहाँका ब्यवसायीहरुको अपेक्षा छ ।





Comments