कखरा हेर्न भीड, दण्डहीन शिक्षामा जोड






११ मंसीर, काठमाण्डौं
'ट्वाइलेटमा बच्चा साँच्चीकै मरेको रे, अनि कसरी फेरि बाँच्यो त ?' यो काठमाण्डौंको एक विद्यालयमा भएको घटनामा निर्माण गरिएको डकुमेन्ट्री कखराको दृष्य हेरेर हलबाट निस्कँदै गरेका विद्यार्थीबीचको संवाद हो ।
काठमाण्डौंको वालाजुमा अवस्थित अस्टनारायण हलमा आज (विहीबार) गरिएको च्यारिटी प्रदर्शनमा कखराले धेरै दर्शकलाई रुवायो । ठूलो भीडमा उपस्थित भएका दर्शकले पर्दामा हेरेका कलाकारसँग साक्षात्कार गर्न पाउँदा धेरै खुशीसमेत भए । धेरै दर्शकहरुले यस्तो लापर्वाहीको घटना अव विद्यालयमा दोहोरिन नहुने कुरामा जोडसमेत दिए ।




दण्डहीन शिक्षामा जोड दिएर निर्माण गरिएको डकुमेन्ट्री कखरा छायाङ्कन गरिएको विद्यालय रीड मोडलका विद्यार्थी, शिक्षक, अभिभावक, रंगकर्मी, संचारकर्मीमाझ प्रदर्शन गरिएको हो । प्रदर्शनमा नेपाली चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, कलाकार भुपेन चन्द, ८ बर्षीय निर्देशक सौगात विष्ट, फिल्मका निर्देशक डिकेश लामा, गजित विष्ट, कोरोना नेपालकी अध्यक्ष सुमित्रा नेपाल, निर्माता विनोद लामाले दर्शकमाझ औपचारिक कार्यक्रम गरी शिक्षामा हुने दण्डलाई अन्त्य गर्न अभिभावक, शिक्षक र राज्यबाट पहल गर्नु पर्नेमा जोड दिन दर्शकलाई आग्रह गरेका छन् ।
गर्बु फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको डकुमन्ट्री संचारकर्मी डिकेश लामाको लेखन तथा निर्देशन रहेको छ । डकुमेन्ट्रीमा राजेश हमाल, सौगात विष्ट, भूपेन चन्द, सौजन्य सुब्बा, श्रीकृष्ण न्यौपाने, गजित विष्टको मुख्य भूमिका रहेको छ । यो डकुमेन्ट्रीले विद्यालयमा भएको दण्ड, त्रास सम्बन्धीका घटनालाई न्यूनिकरण गर्न मदत पुग्ने निर्देशक लामाले बताए । डकुमेन्ट्री देश भरका विद्यालयमा प्रदर्शन गर्ने योजना भएको निर्माण टीमले जानकारी दिएको छ । कार्यक्रममा फिल्म युनिटका गायक मिन गुरुङ्ग, नविन वोगटी, सुरेन्द्र भण्डारी र रंगकर्मीका परिवारहरुको समेत उपस्थिति थियो ।





Comments