हिन्दु राष्ट्र घोषणा गर्न माग




२९ कार्तिक, बिर्तामोड।
नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने मागसहित यहाँ आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले सबै दलका नेता, कार्यकर्ताहरुलाई वैदिक सनातम हिन्दु धर्मको झण्डाभित्र गोलवद्ध हुन आव्हान गरेका छन् ।
शनिवार अतिथि सदनमा आयोजित हिन्दु धर्म संरक्षण संयुक्त संघर्ष समितिले आयोजना गरेको घोषणा सभाका वक्ताहरुले नेपालीको मौलिक अस्तित्वसँग गाँसिएको हिन्दु राष्ट्रको पहिचानलाई दुईचार नेताले मनोगत रुपमा निरपेक्ष घोषणा गरेर जनताको भावनामाथि खेलवाड मात्र होइन, अपराध गरेको बताएका थिए ।
नेपाल दशनामी समाजका पूर्व केन्द्रीय सल्लाहकार तथा संघर्ष समितिका संयोजक हर्कलाल गिरीको सभापतित्व एवम् ब्राह्मण समाजका केन्द्रीय अध्यक्ष प्रा. मोहन भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले केही नेताको लहडमा नेपाललाई धर्मविहीन राष्ट्र बनाएको आरोप लगाउँदै त्यस्तालाई भोट दिएर आफूहरुले गल्ती गरेको उल्लेख गरे ।



घोषणासभामा डा. तिलक चैतन्य, दशनामी समाज झापा अध्यक्ष भरतलाल गिरी, विदुषी बृन्दा निरौला (बराल), राष्ट्रिय हिन्दू एकता मञ्चका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद ओली, विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य केपी ओली, खस क्षेत्री एकता समाजका केन्द्रीय सदस्य भीम कार्की, साधुटार शक्तिपीठका आचार्य छन्दुराम भण्डारी, नेपाल गौ वंश संरक्षण समितिका केन्द्रीय अध्यक्ष आ. लक्ष्मीप्रसाद खतिवडा, सनातन धर्म सेवा समिति झापाका उपसभापति सोमनाथ सुवेदी, आचार्य रघुनाथ रिमाल लगायतले बोलेका थिए ।
विश्व हिन्दू महासंघका ध्रुव शिवाकोटीले औचित्यमाथि प्रकाश पारेको घोषणा सभामा इस्लाम धर्मावलम्बी शिवशंखर खानले इस्लाम, क्रिस्टियन समय सापेक्ष नभएको भन्दै बशुधैव कुटुम्वकम् भन्ने हिन्दू धर्मको आस्था र आचरणलाई सार्थक पार्न र हिन्दू राष्ट्र कायम गर्न आफू मर्नसमेत तयार रहेको बताएका थिए । कार्यक्रमको सञ्चालन टीकाराम खरेलले गरेका थिए ।




Comments