पथरी गोल्डकपमा झापा ११ उपाधि नजिक, हारेको झोंक दर्शकमाथि पोखे जुमानुले

तेजन खड्का,
१० मंसीर, उर्लाबारी।
झापा ११ मोरङको पथरीमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । प्रतियोगिताअन्तर्गत बुधवार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब काठमाण्डौलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै झापाले अन्तिम दुईको यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक भएको खेलमा झापाका तर्फबाट पहिलो हाफको २४ औं मिनेटमा गणेश खड्काको गोल नै निर्णायक गोल बन्यो । डिफेन्सको कमजोरीको फाइदा उठाउँदै झापाका गणेश खड्काले करिव १५ यार्डबाट गरेको प्रहारबाट बलले सिधै जाली चुमेको थियो ।
पहिलो हाफको अन्त्यतिर पुलिसले बरावरी गर्ने सुनौलो मौका खेर फाल्यो । वान भर्सेस वानमा जुमानु राईको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । पहिलो हाफमा एक शुन्यले अघि रहेको झापाले दोश्रो हाफमा पनि उहि लयमा खेल खेल्यो ।
खेलको म्यान अफ द म्याच झापा ११ का दिलेन लोक्तान घोषित भए ।
प्रतियोगिताअन्तर्गत विहिवार हुने दोश्रो सेमिफाइनल खेलमा नेपाल आर्मी क्लब काठमाण्डौ र सिनान्चु क्लब सिक्किम भारतबीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष धनकुमार तामाङले जानकारी दिए ।




जुमानुले दर्शक पिटे
खेल सकिएपछि जुमानुहरु थकाई मारिरहेको ठाउँमा प्रहरीको खेल राम्रो छ भन्दै अरुले हेर्न जाम भनेपछि आएको पैसामात्र खेर गयो भन्दा झुमानुले गुण्डागर्दी शैलीमा एक दर्शकलाई अनुहारमा मुक्का प्रहार गरेका छन् ।
उनले गुण्डागर्दी शैलीमा दर्शक किशोर पराजुलीलाई पिटेका हुन् । हारेर टेन्सन भएको बेला टर्चर दिन्छ भन्दै उनले एकोहोरो बक्सिङ प्रहार गरेका थिए ।
जुमानुले दर्शक पराजुलीलाई पिट्दा आयोजकले भने मानसिक रोगी हो 'माइण्ड नगर्नु भन्दै पन्छाएका थिए ।
तर स्थानीय पत्रकार गोपाल काफ्लेका अनुसार उनी मानसिक रोगी होइनन् ।
टिम कोच हरि खड्काले जुमानुले दर्शक पिट्दा हाँस्दै छोड्दे भन्दै जुमानुलाई भनेका थिए । टिम क्यापटेन अनन्त थापा भने केहि बोलेनन् । जुमानुले आयोजकलाई आफुले उक्त व्यक्तिले छेउमा आएर एउटै कुरा दोर्‍याउँदै टर्चर दिएको प्रतिक्रिया दिए ।





पत्रकार भुईंमा, दर्शक कुर्सीमा

समाचार संकलन गर्न बसेका पत्रकारहरुको कम्ता बिजोग भएको छैन ।
पत्रकार बस्ने कुर्सीमा दर्शकहरु आएर बस्दा पनि आयोजक रमिते बनेको थियो । जसको कारण पत्रकार भुईंमै बसेर समाचार गर्न वाध्य भएका थिए ।
सञ्चारकर्मी हरि कोइरालाले भुईंमा बसेर समाचार संकलन गर्न समस्या भएको बताए । उनले भने, 'दर्शकहरुले गर्दा समाचार टिप्न र फोटो खिच्न मुस्किल भयो।' आयोजक खेलको व्यवस्थापन गर्न भन्दा पनि आफै खेलको मजा लुटिरहेको पत्रकारहरुको भनाई छ । पत्रकार सन्तोस राईले भने, 'पत्रकार लेखेर टाँसिएको पोष्टर च्यातिदिए हुन्छ , यसरी अपमान गर्नुभएन।'

नाम मात्रको फ्री वाइफाई
दर्शक तथा पत्रकारलाई खेल अवधिभर इन्टरनेट चलाउन भनेर फ्री वाइफाई उपलब्ध गराउने भनेर आयोजकले फुकेपनि सेवा लागु भएको छैन । इन्टरनेट सेवा प्रदायक सुविसुले फ्री वाइफाई उपलब्ध गराउने भनेर प्रचार गराएको थियो ।
फ्री वाइफाई भनेर मख्ख परेका दर्शक तथा पत्रकार इन्टरनेटले काम नगर्दा चिन्तित छन् ।
स्थानीय पर्वत राईले भने, 'वाइफाई सुविधा हुँदैन भने प्रचार नगरियोस् ।'
पत्रकारहरु पनि समाचार छिटो पठाउन नपाउँदा समस्यामा परेका छन् ।

तस्बिर - हिङमाङ


Comments