सिक्किम सेमीफाइनलमा





तेजन खड्का
९ मंसीर, उर्लाबारी।
सशस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्दै भारतको सुनान्चु क्लब सिक्किम मोरङको पथरीमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण पथरी गोल्ड कपको फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रबेश गरेको छ । निर्धारित ८० मिनेटको खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा सशस्त्रका सुदीप सेक्राकारले प्रहार गरेको पहिलो गोल नै सिक्किमका गोल रक्षक पिन्त्सो शेर्पाले बचाउ गरेका थिए भने सशस्त्रका हेमन गुरुङले गोललाई निसाना दिन सकेनन् । सशस्त्रका पाल्साङ लामा, नवीन लामा र गणेश लावतीले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।



सिक्किमका लागि अफ्रिकन खेलाडीहरू प्रिन्स र तम्वोलाका साथै तेम्पो भुटिया र बिकास थापाले गोल गरेका थिए भने आजको खेलमा मेन अफ द म्याच घोषित सिक्किमका सञ्जित सुब्बाको पेनाल्टी प्रहार सशस्त्रका गोल रक्षक अमृत चौधरीले नियन्त्रणमा लिएका थिए ।
निर्धारित समयको खेलमा सुरु देखि नै दवावमा राखेको सिक्किम विरुद्ध खेलको २२ औं मिनेटमा सन्तोष श्रेष्ठले गोल गरेका थिए । गोल रक्षक बल क्लियर गर्न अघि बढेको मौकामा श्रेष्ठले पाल्साङ लामाको पासलाई सदुपयोग गर्दै खेलमा १-० को अग्रता कायम गरेका थिए । खेलको ६२ औं मिनेटमा सिक्किमका छिरिङ ग्याल्पो तामाङले १ गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा पुर्‍याएका थिए । तामाङले सञ्जित सुब्बाको पासको गोल गरेका थिए ।
सिक्किमको भोलि हुने सेमिफाइनलमा नेपाल आर्मीको त्रिभुवन क्लवसँग प्रतिस्पर्धा हुनेछ । बुधबार पहिलो सेमिफाइनल खेल झापा-११ र नेपाल प्रहरीको नेपाल पुलिस क्लबबीच खेल हुनेछ।

Comments