विकास योजनासँगै दमकबासी उत्साहित


-->



६ मंसीर, दमक।
झापाको दमकस्थित मुख्य बजार क्षेत्रमा पर्ने सडकको स्तरोन्नति योजनासँगै बजारबासी उत्साहित भएका छन् । नगरपालिकामा सडकको तिब्र विकास भएको भनिएपनि मुख्य बजार क्षेत्र भने सडकको जीर्ण अवस्थाकै कारण अशोभनिय देखिएको थियो । वडा नं ११ मा पर्ने शंखधर साख्वा चोक र आसपासमा सडकको स्तर जीर्ण अवस्थाको थियो । शंखधर साख्वाको शालिकबाट भृकुटी चोक जाने सन्तविर मार्ग अगाडी नै अन्तराष्ट्रिय निकायका कार्यालयहरु समेत रहेका भएपनि दिनैपिच्छे सडकमा पानी छ्यापेर धुलो कम गर्नु पर्ने अवस्था थियो । सो मार्गको कालोपत्रेका लागि करीब ३-४ बर्ष अघिदेखि पहल भएको भएपनि विभिन्न कारणले सो योजना स्थगित हुँदै आएको थियो । उपभोक्ताहरु, नगरपालिका र अन्तराष्ट्रिय संघसंस्थाहरूका बीच समन्वय हुन नसक्दा अघि बढ्न नसकेको कालोपत्रे योजना सम्पन्न भएपछि यी क्षेत्रका बासिन्दाहरुमा खुसी छाएको छ ।
स्थानीय केन्द्र प्रसाईंको अध्यक्षतामा रहेको उपभोक्ता समितिको अगुवाईमा सो सडक कालोपत्रे योजना पूरा भएको हो । नगरपालिकाका इञ्जिनीयर तीर्थनारायण श्रेष्ठले शरणार्थी मामिला सम्बन्धी राष्ट्रसंघीय उच्चायोग, दमक नगरपालिका र उपभोक्ता समितिको साझेदारीमा ३३ लाख रुपैयाँ लागतको सो कालोपत्रे योजना पूरा भएको छ । उनका अनुसार त्यहाँ उच्चायोगले कुल लागतको ५० प्रतिशत र उपभोक्ता तथा नगरपालिकाबाट ५० प्रतिशत खर्च ब्यहोर गरिएको छ ।


-->

सो सडक ४ सय १३ मिटर लामो र ४० फुट चौडाईको रहेको जनाइएको छ । उपभोक्ता समितिका अध्यक्ष प्रसाईंले सो सडक विभिन्न कारणबाट लामो समयदेखि स्तरोन्नती हुन नसक्दा स्थानीय व्यवसायी तथा सर्वसाधारण उपभोक्ताहरुले समेत धुलो र प्रदुषण झेल्नु परिरहेकोमा सडक स्तरोन्नतीले खुशी ल्याइदिएको बताए। दमक बजारको मुहारमा परिवर्तन आउने अपेक्षा गरिएको ठूला यातायात साधन प्रतिवन्धित नमुना सडक सो सडक कालोपत्रेसँगै शंखधर साख्वा चोकमा सोही सडकसँग जोडिएको कोइराला मेडिकल हलसम्म पुग्ने बाटोलाई दमक नगरकै नमुना बाटोका रुपमा लैजाने योजना तर्जुमा भएको छ। नगरपालिकाका निमित्त कार्यकारी अधिकृत युवराज दाहालले नगरपालिकाले सो सडकलाई पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बनाउने नगरपालिकाको योजना पूरा भएको बताए। नगरपालिकाको विकास बजेट र नगरविकास कोषको बजेट समेत गरि कुल ६० लाख रुपैयाँको लागतमा सो नमुना सडक हालै मात्र सम्पन्न भएको उनले बताए।



-->

Comments