आफ्नै बिवाहको भोज खाएर बेहुला गम्भीर

एकै गाउँका ५० बढी सिकिस्त १४ जना इमरजेन्सीमा, १ को अवस्था नाजुक




तेज बन विश्वासी
१३ मंसीर, सुनसरी ।
मोरङ्गको सिसवनी वडहरामा विवाहको अघिल्लो दिन बेहुलाको घरमा खाएको भोजनबाट बिरामी हुनेको संख्या ५० नाघेको छ ।
सिसवनी बडहरा-४का स्थानीय बिष्णुहरी फुयालको घरमा विवाहको अघिल्लो दिन (विहीवार, कसार बाट्ने दिन) आयोजना गरिएको भोजबाट सिङ्गो गाउँका गाउँलेहरु बिरामी बनेका हुन्।
शुक्रबार आयोजना हुने बिवाहको अघिल्लो दिन नै खाएको भोजका कारण ३० जनाभन्दा बढी बिरामी बनिसकेका थिए भने शुक्रवार थप आफ्नै बिवाहको भोज खाँदा बेहुला टेकेन्द्र फुयाल पनि बिरामी बनेका छन् ।
उनको पेटमा समस्या देखिनुका साथै दिशामा रगत देखिएपछि शुक्रवार साँझ बिराटनगरस्थित नोवेल अस्पताल भर्ना गरिएको बेहुलाका आफन्त सिता दहालले बताइन्।



सोही भोजका कारण बेहुला फुयालसहित शुक्रवार थप १३ जनालाई समेत अस्पताल भर्ना गरेपछि बिरामी संख्या ५० नाघेको सिसवनी बडहराका स्थानीयहरुले बताएका छन्।
अस्पताल भर्ना भएकाहरुमध्ये बेहुलाका बाबु बिष्णुहरि, ठुलाबाबु लक्ष्मी प्रसाद, दाजु नगेन्द्र, भाउजु पवित्रा, बहिनी तुलसा, भाइ गणेशका साथै ४ जना वालवालिका लगायत बेहुला सहित १४ जनाको इमरजेन्सी कक्षमा उपचार भइरहेको आफन्त दहालले बताइन् ।
बिरामीहरुमध्ये गाउँकै ११ वर्षीय बालक मनोज भगतको आइसीयु कक्षमा उपचार भइरहेको र उनको अवस्था चिन्ताजनक रहेको अस्पताल सुत्रले बताएको छ ।
बेहुलाको घरमा बिवाहको अघिल्लो दिन सेलरोटी, टमाटरको अचार, आलु र फूलगोभीको तरकारी खाएको र भोज खाएको एक घण्टापछि सबैलाई टाउको दुख्ने, पेट पोल्ने, पखाला लाग्ने र दिशामा रगत देखिने समस्या रहेको स्थानीयहरुले बताएका छन् ।
बिरामीमध्ये इमरजेन्सीमा भर्ना भएकाहरुको अहिलेसम्म पनि होस नआएको शरीरको तापक्रम अत्याधिक बढेको बताइएको छ ।
शुक्रवार सुनसरीको खनार ४ स्थित स्थानीय बास्तोला थरकी युवतीसँग वैवाहिक बन्धनमा बाँधिएका बेहुला टेकेन्द्रसमेत बिरामी भई इमरजेन्सीमा भर्ना गरेपछि बेहुलीलगायत बेहुलीका आफन्तहरु समेत चिन्तामा डुबेका छन्।




Comments