मालेको मेचीकाली जागरण यात्रा सुरु




५ मंसीर, दमक।
तोकिएकै मितिमा सर्वस्वीकार्य संविधान जारी गर्न दबाब दिने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (माले) ले शुक्रबारदेखि मेचीकाली जागरण यात्रा सुरु गरेको छ ।
नेकपा माले केन्द्रीय कमिटिको निर्णयअनुरुप पूर्वी नेपालको काँकरभिट्टा र सुदूरपश्चिमको गड्डाचौकीदेखि 'नेपाल जागरण आन्दोलन सफल पारौं’ भन्ने मूल उद्घोषका साथ पार्टीले मेची र महाकालीबाट एकैसाथ जागरण यात्रा सुरु गरेको हो। सो अभियान आगामी ९ गते चितवनको नारायणघाट पुगेर औपचारिकरुपमा समापन हुने यात्रामा संलग्न नेकपा मालेका मेचीनगर सचिव बद्रिप्रकाश उप्रेतीले जानकारी दिए । समापनमा मालेका महासचिव सिपी मैनालीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



पूर्वी सीमा नाका झापाको मेची नदीबाट थालनी गरिएको यात्राको नेतृत्व नेकपा मालेका केन्द्रीय सदस्य नीलमणि बराल र पश्चिमदेखि सुरु यात्राको अगुवाई उक्त पार्टीका पोलिटव्यूरो सदस्य एवं पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठले गरेका छन् । मेचीको अभियान टोलीमा माले नेता बरालसहित पोलिटव्यूरो सदस्यद्वय खगेन्द्र प्रसाईं, सभासद् तथा पार्टी केन्द्रीय कमिटी सदस्य अइन्द्र सुन्दर नेम्बाङ, पोलिटव्यूरो सदस्य दिनानाथ घिमिरे, केन्द्रीय सदस्य पर्शुराम लामिछाने, प्रेम दाहाललगायत सयजना नेता, कार्यकर्ता संलग्न रहेका छन् ।
मोटरसाइकल र्‍यालीसहित सुरु गरिएको जागरण अभियान समूहले झापाको काँकरभिट्टा, धुलाबारी, बिर्तामोड, सुरुङ्गा, दमक लगायत शहरहरुमा कोणसभा आयोजना गरेका मालेका मेचीनगर उपसचिव कवि चिमरियाले बताए ।
शुक्रबार बिहान पूर्वको मेची नदीबाट यात्राको विधिवत शुभारम्भ गर्नुअघि स्थानीय हनुमान मन्दिर अगाडी आयोजित कोणसभालाई मालेमा झापा सचिव नवराज खरेल, नीलमणि बराल, खगेन्द्र प्रसाई, पर्शुराम लामिछाने, अइन्द्र सुन्दर नेम्बाङ, दिनानाथ घिमिरे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
तस्वीर - दमकमा भएको कोणसभामा सहभागी मालेका नेताहरु । (विष्णु सुब्बा)





Comments