चर्च ब्वाइजलाई पन्छाउँदै झापा ११ सेमीफाइनलमा





राजेश कुइँकेल।
६ मंसीर, दमक।
झापा ११ मोरङको पथरीमा जारी दोश्रो पथरी अन्तराष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत आज भएको खेलमा चर्च व्वाइज क्लब काठमाण्डौलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै झापाले अन्तिम चारको यात्रा तय गरेको हो ।
प्रतिस्पर्धात्मक भएको खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण चर्च व्वाइजलाई झापाले कडा चुनौति प्रस्तुत गरेको थियो । सुरुवातदेखि नै निकै सन्तुलित खेल खेलेको झापाका लागि पहिलो हाफको २८ औं मिनेटमा कर्ण लिम्बुले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । डि बक्सभित्र चर्च व्वाइजका दिनेश राजवंशीले लिम्बुलाई नै फल गरेपछि झापाले पेनाल्टी पाएको थियो । एक गोलले पछि परेको चर्च व्वाइजले पहिलो हाफपको अन्त्यमा पुन अर्को झड्का बेहोर्नु पर्‍यो । चर्चका गोल किपर किरण चेम्जोङको गल्तीको फाइदा उठाउँदै योगेश गुरुङले गोल गरेपछि पहिलो हाफमा झापाले २ शुन्यको अग्रता लिन सफल भयो ।




दोश्रो हाफको २८ औं मिनेटमा झापाको गणेश खड्काले गोल गरेपनि एम्पाएरले त्यसलाई आफसाइड दिएपछि झापाले गोलको अग्रता बढाउने मौका गुमाएको थियो । तर दोश्रो हाफको ३४ औं मिनेटमा चर्च व्वाइजले पनि गोल अन्तर कम गर्ने मौका गुमायो । डि बक्स एरियामा चर्च व्वाइजका निराजन खड्कालाई झापाका डिफेन्सले लडाएपछि चर्च व्वाइजले पेनाल्टी पाएको थियो । तर चर्चका प्रकाश बुढाथोकीको प्रहार झापाका किपर दिनेश थापा मगरले रोकेपछि झापाको जित सुनिश्चित भएको थियो ।
खेलको म्यान अफ द म्याच झापाका कर्ण लिम्बु घोषित भए ।
प्रतियोगिताअन्तर्गत भोलि आइतबारको खेल कंचनजंघा स्पोर्टिङ क्लब भारत र नेपाल आर्मी क्लवबीच हुने आयोजकले जनाएको छ ।


Comments