दमक र बिर्तामोडका कम्प्युटर पसलबाट लाखौंको चोरी गर्ने गिरोह पक्राउ





४ मंसीर, दमक।

झापाको दमक र बिर्तामोडका दुई कम्प्युटर पसलबाट चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

गतअसोज २९ र कार्तिक २२ गते झापाको दमकस्थित अनलाइन कम्प्युटर सप्लार्यस र बिर्तामोड बजारमा रहेको ट्रेडलिङ्क कम्प्युटर सप्लार्यसबाट लाखौं मूल्य बराबरको ल्यापटप तथा क्यामेरा चोरी भएको थियो ।

प्रहरीले चोरी गर्ने, चोरीको सामान खरिदबिक्री गर्ने र सामान ओसार्न सहयोग गर्ने एक एम्बुलेन्स चालकसमेतलाई पक्राउ गरी आज इलाका प्रहरी कार्यालय अनारमनिमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । घटनाको अनुसन्धान गर्न गठित अनुसन्धान टोलीले उनीहरुलाई बिभिन्न स्थानहरुबाट पक्राउ गरेका थिए ।




पक्राउ पर्नेमा चोरीमा संलग्न उदयपुर त्रियुगा नगरपालिका १३ बस्ने २७ वर्षिय बिष्णु दाहाल, भारत मोतीहारी जिल्ला घर भएका ४५ वर्षिय सुबोध पण्डित, सिन्धुपाल्चोक फुलपिङकोट बस्ने २१ वर्षिय राजेश भन्ने स्वराज मगर, सिन्धुपाल्चोक लिसाङखु ९ बस्ने २९ वर्षिय सोनम लामा र जिल्ला मकवानपुर धियाल गाविस २ बस्ने ३० वर्षिय मिलन भन्ने धनबहादुर योन्जन, रौतहट पोटीहाई ६ बस्ने ३२ वर्षिय अशोक साह (जैसवाल) र महोत्तरी गौरीबास ३ बस्ने ३६ वर्षिय दिपक भन्ने बुद्धिमान माझी रहेका छन् ।

उनीहरुमध्ये पण्डित, माझी र स्वराज दुबै घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई टोलीले बिराटनगर, पोखरा, चन्द्रनिगाहपुर र सिरहाको मिर्चैयाबाट स्थानीय प्रहरीहरुको सहयोगमा पक्राउ गरेको हो । घटनामा संलग्न अन्य चारजना फरार रहेकाले खोजतलाश भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ।
अनुसन्धान टोलीले घटनाको जाहेरी, घटनास्थल मुचुल्का र सिसि क्यामेराको फुटेज लगायतको अवलोकन तथा उपयुक्त मानिएका प्रबिधिहरुको प्रयोगगरी गरेको अनुसन्धानबाट घटनामा उनीहरुको संलग्नता देखिएकोले पक्राउ गरिएको पत्रकार सम्मेलनमा बताए ।

उनीहरुको साथबाट प्रहरीले २१ थान ल्यापटप, ३ थान क्यामेरा, बिभिन्न कम्पनीका १३ थान मोबाईल फोन र नगद तेह्र हजार आठसय पचहत्तर नेपाली र दुई हजार तीनसय पचास भारु तथा बिभिन्न नाममा आई.एम.ई बाट पठाएको एक लाख एकचालीस हजार ६ सय असी रुपैयाको भौचरसमेत बरामद भएको छ । बरामद भएका ल्यापटपहरुमध्ये ६ वटा अनलाइन कम्प्युटर सप्लायर्सको र १२ वटा ट्रेडलिङ्क कम्प्युटर सप्लायर्सबाट हराएका खुलेको छ।



पत्रकार सम्मेलनमा प्रहरीले पक्राउ परेका व्यक्तिहरु घटनाको केहीदिन अघिदेखि काकडभिट्टास्थित एक होटलमा बसेका र घटनाको ४\५ दिनअघि पसलको स्थलगत अध्ययनकालागि ग्राहक बनेर दुबै पसल पुगेको अनुसन्धानबाट देखिएको बताए। प्रहरीको अनुसन्धानबाट सो समुहले एक स्थानमा चोरी गरेपछि अर्कै स्थानमा गई आश्रय लिने र चोरीको सामान ओसार्न तथा बिक्रीबितरणका लागि छुट्टै समुह परिचालन गर्ने गरेकोसमेत खुलेको हो ।

प्रहरीले सामान ओसार्न प्रयोग गरिएको युवास्वर्ण तारा क्लव खैरेनी ६ चितवनको नाममा रहेको ना २ च ४०५२ नम्बरको एम्बुलेन्सका चालक चितवन पर्साखैरेनी २ चैनपुर बस्ने २८ वर्षिय शंकर पाठक, चोरीका सामान खरिदबिक्रिमा संलग्न मकवानपुर धियाल गाविस २ बस्ने ३० वर्षिय धनबहादुर योन्जन, नवलपरासी कोल्हुवा गाविस ३ बस्ने २० वर्षिय शिव सुनुवार, कुमारवर्ती गाविस २ बस्ने ३० वर्षिय दिर्घनारायण बस्याल, पाल्पा तानसेन नगरपालिका २ बस्ने ३४ वर्षिय सचिन शाही र छहरा गाविस ५ बस्ने २४ वर्षिय शिव पौडेललाई समेत पक्राउ गरेको छ। उनीहरु चितवन, पाल्पाको तानसेन र नवलपरासीको कावासोतीबाट पक्राउ परेका हुन्। सोही समुहका एक फरार रहेकाले प्रहरीबाट खोजतलास भइरहेको छ। उनीहरुले सामान ओसार्न तीस हजारमा उक्त एम्बुलेन्स भाडामा लिएको र सोही एम्बुलेन्समा राखेर उक्त सामान बिभिन्न स्थानसम्म पुर्‍याएको अनुसन्धानमा खुलेको छ ।

घटनाको अनुसन्धानकालागि पूर्वक्षेत्रीय प्रहरी कार्यालयले एक अनुसन्धान टोली गठन गरेको थियो । गठित टोलीमा क्षेत्रीय अनुसन्धान समुह (Regional Investigation Team), जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षकहरु राजकुमार बैदवार, बिश्वमणि पोखरेल र संजय बहादुर राउत तथा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक चिरञ्जिबी दाहालसहितका प्रहरी खटिएका थिए ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनिबाट चोरी अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।





Comments