दोस्रो पथरी गोल्डकपको उपाधि आर्मीलाई

तेजन खड्का
१३ मंसीर, उर्लाबारी।
मोरङको पथरीमा सञ्चालित दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्ड कप फूटबल प्रतियोगिता २०७१ को उपाधि नेपाल आर्मीको त्रिभुवन क्लबले चुमेको छ। गत शनिवार स्थानीय पथरी रंगशालामा भएको फाइनल खेलमा आर्मीले झापा-११ लाई २-० गोल अन्तरले पराजीत गर्दै उपाधि रक्षा गरेको हो । खेलको ८ औं मिनेटमा आर्मीका दिपक गुरुङले गोल गर्दै आर्मीलाई जीतको नजिक पुर्‍याएका थिए ।
झापा ११ का प्रवेश कट्वालले आर्मीका राजु तामाङलाई लडाएपछि प्राप्त भएको फ्री-किकलाई सदुपयोग गर्दै दिपक गुरुङले गोल गरे ।
खेलको ५० औं मिनेटमा आर्मीका हिरन मगर दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट निस्किएपछि झापा ११ले आर्मीमाथि दवाब राखेको थियो । यद्यपि,१० खेलाडीमा सिमित भएको आर्मीले खेलको ७१ औं मिनेटमा झापा बिरुद्ध थप १ गोल गर्‍यो।




टंक बस्नेतले मध्यभागबाट एक्लै बढाएको बल डि बक्स नजिकै पुर्‍याएर नवयुग श्रेष्ठलाई दिएका थिए । नवयुगले सिधै पोष्टमा प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । झापा ११ ले पटक पटक गोल पोष्टमा प्रहार गरेपनि गोलले पोष्टको निशाना पाउन सकेको थिएन। खेलमा झापाका योगेश गुरुङले म्यान अफ द म्याच घोषित हुँदै रु ५ हजार प्राप्त गरे ।
जीतसँगै आर्मीले २ लाख २ हजार २२२ रुपैयाँ सहित गोल्ड कप हात पारेको छ भने उप विजेता झापाले नगद १ लाख ११ हजार १११ रुपैयाँ सहित ट्रफि जितेको छ ।
प्रतियोगिता सम्पन्न भएलगत्तै आयोजित कार्यक्रममा उपाधि विजेता आर्मीलाई कार्यक्रमका प्रमुख अतिथि यातायात व्यवसायी छत्रबहादुर बस्नेतले नगद, गोल्डकप र प्रमाण पत्र प्रदान गरेका छन् ।


यस्तै खेल अवधिमा सर्वाधिक गोलकर्ता पथरीका हेमन्त आले, आर्मीका नवयुग श्रेष्ठ र दिपक गुरुङलाई जनही ५ हजार रूपैयाँनगद सहित ट्रफि प्रदान गरिएको छ । उनीहरुले २/२ गोल गरेका थिए । प्रतियोगिताको 'म्याच अफ द सिरिजको उपाधि आर्मीका नवयुग श्रेष्ठले प्राप्त गरे । म्याच अफ द सिरिजलाई रु २५ हजार नगद सहित ट्रफि प्रदान गरिएको छ ।
खेलमा नेपाली राष्ट्रिय फुटवल टिमका प्रशिक्षक स्टेफन ज्याक लगायत फुटवल पदाधिकारीहरुको उपस्थितीहरु रहेको थियो । प्रतियोगीताको प्रथम पुरस्कार पथरी शनिश्चरे नगरपालिकाले प्रायोजन गरेको थियो भने दोस्रो पुरस्कार पथरी इजरायल समाजले गरेको गोल्डकपका अध्यक्ष धनकुमार तामाङले जानकारी दिए ।



Comments