मन्त्री पण्डितद्वारा आधा दर्जन सम्मानित




५ मंसीर, उर्लाबारी ।
मोरङको बयरवन र केरौन गाविसबाट राजधानी पुगेर राष्ट्रिय छवि बनाउन सफल विभिन्न ब्यक्तिहरूलाई आज सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सम्मान गरेका छन् । बयरवन-केरौन समाजको आयोजनामा मोरङको रमाइलोमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले विभिन्न क्षेत्रमा ख्याति कमाएका ६ जनालाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरूमा प्रधानमन्त्री सुशील कोइरालाका निवर्तमान स्वकीय सचिव लक्ष्मण ढकाल,नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष केशव निरौला, कान्तिपुर टेलिभिजनका समाचार प्रमुख तीर्थ कोइराला, एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य एवं अधिवक्ता हरि फुयल, नेफ्स्कुन केन्द्रीय सदस्य ताराबहादुर काफ्ले र अधिवक्ता तुलाराम गुरुङ छन् । कार्यक्रममा मन्त्री पण्डित, सभासद चण्डीप्रसाद राईलाई पनि सम्मान गरिएको थियो ।




यस्तै बयरवन र केरौन गाविसको बिकास निर्माण तथा शैक्षिक विकासमा सहयोग पुर्‍याउने चार जनालाई मरणोपरान्त सम्मान गरिएको छ । मरणोपरान्त सम्मान पाउनेहरूमा प्रेमप्रसाद पराजुली, सनकसिंह भट्टराई, खड्गनारायण राजवंशी र साफिलाल धिमाल हुन् ।
सम्मान समारोहमा बोल्दै मन्त्री पण्डितले राज्य ब्यवस्था समितिको बैठकबाट निजामति ऐन पारित गरी पिआर र ग्रीन कार्ड होल्डर कर्मचारीलाई सेवाबाट बरखास्त गर्ने बताए। उनले पीआर र ग्रीन कार्ड रद्द गर्न ३० दिनको समय दिइने र सो समयमा पनि आफैं रद्द नगरे थप ३० दिनभित्र उनीहरूलाई कारबाही गर्ने बताए।
कार्यक्रममा सभासद चण्डीप्रसाद राई लगायतका बक्ताले बोलेका थिए ।
सम्मान कार्यक्रम बयरबन-केरौन सेवा समाज काठमाडौंका अध्यक्ष मेघेन्द्र पराजुलीको सभापतित्वमा भएको थियो ।


Comments