सिटिइभिटी आवद्ध झापाका शिक्षण संस्थाहरु बन्द




१४ मंसीर, दमक।
झापामा आन्दोलनरत ६ विद्यार्थी संगठनहरुले आज सिटिइभिटी सम्बन्धन प्राप्त झापाका शिक्षण संस्थाहरु बन्द गराएका छन् । बन्दको आव्हानले विहानैदेखि जिल्लाका सवै सिटिइभिटी सम्बन्धन प्राप्त शिक्षण संस्थाहरु पूर्ण रूपमा ठप्प भए। दमकस्थित लाइफलाइन स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पूर्वाग्रही रुपमा नर्सिङ संकायका तीन विद्यार्थी अनुत्तीर्ण गराएको भन्दै जिल्लाका आधा दर्जन विद्यार्थी संगठनहरुले वन्द गराएका हुन् ।
बन्दका कारण जिल्लाका आधा दर्जन सिटिइभिटी सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुको नियमीत पठनपाठन प्रभावित हुन पुगेको छ ।




प्रतिष्ठानले चालेको त्रुटिपूर्ण कदम नसच्याएसम्म आन्दोलनलाई थप सशक्त वनाउने ती विद्यार्थी संगठनहरुद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । संयुक्त आन्दोलनमा अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल-क्रान्तिकारी, रा.प्र.वि. संघ र अखिल क्रान्तिकारी सिटिइभिटी जिल्ला कमिटि झापा रहेका छन् ।
लाइफ लाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ कक्षाका लागि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद-सीटिइभिटीले तोकेकोभन्दा एक लाख रुपैयाँ बढि शुल्क लिएको बिषयमा जानकारी लिएका विद्यार्थीहरु बिनु निरौला, सुष्मिता दंगाल र सृष्टि सुवेदीको प्रयोगात्मक परीक्षाफल नियोजित रुपमा अनुत्तिर्ण गराइएको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन् ।
यसअघि आन्दोलित विद्यार्थी संगठनहरुले लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रमुखको कार्यकक्षमा शुक्रवार नै तालाबन्दी गरेका छन् ।






Comments