पाणिनीमा ७ नम्बर क्षेत्रस्तरीय हाजिरी जवाफ, अमेरिकाबाट ४ सय डलर आयो




४ मंसीर, दमक ।
आफ्ना एक दिवंगत छात्रको स्मृतिमा झापाको दमक १५ स्थित पाणिनी माविले आज झापा निर्वाचन क्षेत्र ७ स्तरीय अन्तरसामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा यस क्षेत्रका १० वटा सामुदायिक मावि तथा उच्च माविहरूको सहभागिता रहेको थियो ।
विद्यालयका स्वर्गीय विद्यार्थी भिष्म काफ्लेको पाँचौ स्मृति दिवसका अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा आयोजक पाणिनी माविका साथै दमकका सरस्वती उच्च मावि, हिमालय उच्च मावि, ढुकुरपानी उच्च मावि, सिंहदेवी उच्च मावि र पशुपति माविको सहभागिता रहेको थियो भने धरमपुरको भानु मावि, तोपगाछीको कमला मदन आश्रित स्मृति उच्च मावि तथा लखनपुरका मंगलमय उच्च मावि र सरस्वती माविले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
भिष्म काफ्ले स्मृति छात्रवृत्ति कोषबाट सञ्चालन गरिएको सो प्रतियोगितामा हिमालय उच्च मावि प्रथम, सिंहदेवी उच्च मावि द्वितीय र सरस्वती मावि लखनपुर तृतीय भएको विद्यालयका प्रअ टिकाराम भण्डारीले जानकारी दिएका छन् । भण्डारीका अनुसार प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमसः २ हजार, एक हजार दुई सय र ८ सय रूपैयाँ प्राप्त गरेका छन् ।





कार्यक्रमकै सिलसिलामा विद्यालयका पूर्व विद्यार्थी, हाल अमेरिकामा रहेका तुलसी दहालको अगुवाईमा संकलित ३८ हजार पाँच सय रूपैयाँ (चारसय डलर) समेत तुलसीका बुवा टेकनाथ दहालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम रिजाललाई हस्तान्तरण गरेका थिए ।
सोही कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरू प्रेम बहादुर खड्का र सोमनाथ बराललाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो । प्रमुख अतिथिसमेत रहेका दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले शिक्षकद्वय खड्का र बराललाई प्रशंसापत्र प्रदान गरेका थिए ।
यसैगरी सोही कार्यक्रममा विद्यालयमा स्थापित स्वर्गीय हेमदल तामाङ स्मृति कोषका तर्फबाट विद्यालयमा अध्ययनरत विपन्न परिवारका २५ छात्रछात्रालाई स्वेटरसमेत प्रदान गरिएको थियो ।
त्यस्तै गत केही दिनअघि विद्यालयमा सम्पन्न अन्तर सदनात्मक छात्रा फूटवल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका छात्राहरूलाईसमेत पदक तथा पुरस्कार प्रदान गरिएको प्रअ भण्डारीले जानकारी दिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम रिजालको अध्यक्षता र स्थानीय समाजसेवी तथा विद्यालयका पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष, अक्षयकोष दाता भवानी दहालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।




Comments