प्राण भन्दा पैसै प्यारो, तीन सयमै बिक्छ कानुन






तेज बन विश्वासी
८ मंसीर, सुनसरी ।
पूर्वी तराईका बिभिन्न जिल्लाहरुमा सवारी दुर्घटनाको स्थिति कहाली लाग्दो र भयावह अवस्थामा रहेको देखिन्छ । यस्तो अवस्थामा पनि सवारी धनी, चालक, यात्रुलगायत सम्बन्धीत निकाय आफैंले सजगता नअपनाउँदा दुर्घटना झनै बढ्ने खतरा देखिएको छ ।
सडकमा गुड्ने सवारी साधनहरुले क्षमताभन्दा बढी यात्रु कोच्नु, सामानहरु 'ओभर लोड' गरी कुदाउनु र मापसे गरी सवारी चलाउनु सडक दुर्घटनाको मुख्य कारणहरु रहँदै आएका छन् ।
क्षमताभन्दा बढी सामग्री बोकेर सडमा सवारी चलाउदा दुर्घटनामा परिन्छ भन्ने जान्दाजान्दै पनि पैसाको पछि लागी केही सवारीका चालकहरुले 'ओभर लोडभन्दा माथि भोवर लोड' गरी सामानहरु ओसार्ने गरेको देखिएको छ ।


त्यस्ता 'भोवर लोड' गरी कुदाइएका सवारीहरुलाई ट्राफिक प्रहरीले उचित कार्वाहीका सट्टा तीन सयदेखि ५ सय रूपैयाँसम्म जरिवाना लिँदै छोडिदिने गरेका कारण सवारी चालकदेखि लिएर सवारी धनीसम्मले जरिवाना तिरेरै भएपनि आफ्नो सवारी साधनमा क्षमताभन्दा अत्याधिक बढि सामान बोक्न छाडदैनन् ।
पूर्व क्षेत्रमा ट्राफिक प्रहरीले गरेको सवारी चेकजाँच तथा कार्वाहीका कामहरु निकै सराहनिय भए तापनि अत्याधिक लोड गरी सडकमा गुडाएका सवारी साधनहरुलाई ठोस कार्वाही गर्न नसक्दा चालकहरुको मनोवल बढ्दै गएको पाइन्छ ।
सवारीमा अत्याधिक लोड बोक्दा दुर्घटना हुन्छ भन्ने जान्दा जान्दै पनि केही चालकहरुले पैसाको लागी त्यस्तो काम गरेको चालकहरु स्वयम्र बताउँछन् ।
इटहरीको बाबा राइस मिलबाट चामल लोड गरी नेपाली बजार हुँदै भारतका बिभिन्न बजारहरुसम्म पुर्‍याउने एक मालवाहक ट्रकका चालक बिराटनगरका महेश नेपालीले सडकमा 'भोवर लोड' गरी कुदाउँदा ट्राफिक प्रहरीले एक छिन कराउने अनि ३ सयदेखि ५ सय रूपैयाँसम्म लिएर छाडिदिने बताउँछन् । उनले 'ट्राफिकले जरिवाना लिन्छ, यस्तो भोवर लोड बोक्दिन भन्दा साहुले नै बरु जरिवाना तिर्नुपर्छ बोक्न छाड्नुहुँदैन' भन्ने गरेको बताउँछन् । उनले अहिलेसम्म दुईपटक ५ सय र १ पटक १ हजार प्रहरीलाई जरिवाना बुझाई ट्रकसहित लोड गरिएको चामलका भारी लगिसकेको बताए ।
यता यस विषयमा पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरीका प्रहरी प्रमुख एसपी नरबहादुर केसीसँग समपगर्दा उनले आफु आएपछि सवारी साधनहरुमा कडाई अपनाउन थालिएको बताए । त्यस्ता भोवर लोड बोक्ने सवारीहरुलाई अन द स्पट कार्वाही सुरु गरिसकेको र अहिलेसम्म १ सय बढी ओभर लोड र भोवर लोड सवारीसाधन, चालक र सवारी धनीलाई समेत कार्वाही गरिसकेको ट्राफिक प्रहरी प्रमुख केसीले दावी गरे ।





Comments