ओली दिनभर दमकमा व्यस्त





३ मंसीर, दमक।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्धारित मितिमै नयाँ संविधान निर्माण गर्नमा एमाओवादी बाधक भएको दावी गरेका छन् । संविधान निर्माणलाई छोडेर एमाओवादीले विभिन्न वहानामा गतिरोध उत्पन्न गराइरहेको उनको टिप्पणी थियो ।
आज वुधवार दिउँसो आफ्नो गृहनगर झापाको दमक -६ स्थित ढुकुरपानी उच्चमाविको स्मारिका विमोचन समारोहलाई सम्वोधन गर्नुहुँदै अध्यक्ष ओलीले कांग्रेस र एमाले लगायतका दलहरु सहमतिमै नयाँ संविधान ल्याउन प्रतिवद्ध भएको बताए।
संविधानसभाको निर्वाचनमा जनतासँग संविधान निर्माण गर्छौं भन्दै वाचा गरेर भोट मागेका चर्चा गर्दै उनले भने, 'हामी कुनै पनि हालतमा माघ ८ मा नै लोकतान्त्रिक जारी गर्छौ।' सहमति नभए विधिवत प्रकृयामा गएर भएपनि संविधान जारी हुनुको विकल्प नभएको उनको भनाई थियो । नेकपा एमाओवादी लगायतका केही दलहरु माघ ८ मा संविधान जारी गर्न नदिने षड्यन्त्रमा लागेको बताउँदै उनले सधैं मुलुक संक्रमणमा बस्न नसक्ने औंल्याए। अध्यक्ष ओलीले भने, 'जात जातिलाई उकासेर र कोही प्रदेशका नाममा जातको वकालत गरिरहेको र जात छान्ने काम देशको हितमा हुँदैन।'



ओलीले विद्यालयको भौतिक पूर्वाधार विकासमा आवश्यक सहयोग गर्ने बचन पनि दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लयप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य लिलानाथ खनालले विद्यालयको अवस्थाबारे जानकारी गराउँदै विद्यालय भवन, पुस्तकालय, प्रयोगशाला स्थापना तथा विद्यालयले भोग्दै आएको तर स्वामित्वमा आउन नसकेको जग्गाको समस्या समाधानमा सहयोग गर्न ओलीसमक्ष माग राखेका थिए ।
कार्यक्रममा सभाषद महेन्द्रकुमारी लिम्बूले स्थानीय क्षेत्रको विकासका साथै शैक्षिक संस्थाहरुको पूर्वाधार विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।
यसैगरी आज बुधबार नै एमाले अध्यक्ष ओलीले दमक -१२ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनमा आयोजित धुसा (कम्बल) बितरण कार्यक्रममा सम्बोधन गर्दै एमालेले भूमिहिन वर्गलाई आर्थिक रुपमा सवल बनाउन उच्च प्राथमिकता दिएको बताए। सुकुमबासी समस्या समाधान आयोगले भुमिहिन नागरिकहरुलाई ५ कट्ठासम्म जग्गा निःशुल्क बितरण गर्नुपर्ने नीति ल्याएको उल्लेख गर्नुहुदै उहाँले भोगचलनका आधारमा सोभन्दा माथिको परिमाणमा समेत किसानहरुले जग्गा पाउनु पर्ने बताए। ग्रामिण पुनर्निर्माण संस्थाको सहयोगमा प्राप्त १ हजार थान धुसा क्षेत्र नम्बर ७ का बिपन्न व्यक्तिहरुलाई प्रदान गरिएको थियो ।



सो कार्यक्रम लगत्तै ओलीले दमकस्थित बसपार्कमा बृक्षारोपण गरेका थिए । उनले शहरी विकास अहिलेको मुख्य आवश्यकता रहेको भन्दै यसमा जनताको पनि साथ चाहिने बताए। उनले बसपार्क निर्माणका लागि आर्थिक संकट हुन नदिन क्रियाशिल हुने प्रतिवद्धता समेत जनाएका थिए । कार्यक्रममा दमक बसपार्क निर्माण समितिका अध्यक्ष शंकर बस्नेतले बस पार्क निर्माण पूरा गर्न अझै ५ करोड रुपैयाँ चाहिने भन्दै आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । त्यस क्रममा सभाषद महेन्द्रकुमारी लिम्बूले पनि बृक्षारोपण गरेकी थिइन् ।
ओली आज विहानै दमक-१४ स्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको अन्तरकृयामासमेत सहभागि भएका थिए । त्यस क्रममा अध्यक्ष ओलीले क्रान्ति र परिवर्तनका नाममा अव देशले हिंसा सहन नसक्ने बताएका थिए । हिंसाका कारण देश पछि परेको चर्चा गर्दै हिंसाको बाटो छोडेर शान्ति, सहिष्णुताको बाटोमा एक हुनुपर्ने उनले बताए ।
उनले सवै धर्म, संस्कृति देशका अमूल्य सम्पति भएकाले त्यसको संरक्षण, सम्बर्द्धन गर्न खाँचो रहेको औंल्याए । नेपाल मात्र विश्वकै एक तपोभूमि, ज्ञानभूमि, ध्यानभूमि क्षेत्र भएको उल्लेख गर्दै उनले भने, 'यस्ता सम्पदा भएको पूण्यभूमिलाई उन्नत बनाउन जुट्नुपर्छ ।'
पार्टीको इलाम जिल्ला अधिवेशनलाई सम्बोधन गरेर हिजो साँझ झापा आएका ओली आज बुधबार नै काठमाण्डौ फर्किएको एमाले दमक नगर अध्यक्ष अम्बिका खनालले जानकारी दिए ।

तस्वीरहरू -
१. दमक-६ स्थित ढुकुरपानी उच्च माविले निकालेको स्मारिकाको विमोचन गर्दै एमाले अध्यक्ष ओली।
२. दमकमा विपन्न समुदायहरुलाई कम्बल वितरण गर्नुहुँदै एमाले अध्यक्ष ओली ।
३. कृष्ण प्रणामी मन्दिरमा ओली ।

विष्णु सुब्बा



Comments