बंगुरपालनमा पूर्व माओवादी लडाकुको परिवार





विष्णु सुब्बा, दमक।
माओवादी जनसेनाका पूर्व ब्रिगेड कमान्डर तथा नेकपा माओवादीका केन्द्रीय सदस्य मौषम लिम्बुका पत्नी कुमारी लावतीले व्यावसायिक कृषि फर्म सञ्चालन ल्याएका छन् । झापा र इलामको सीमावर्ती चुलाचुली-१ कमलमा उनीहरूसहित स्थानीय अन्य चारजना युवासँगको साझेदारीमा पाँचथर मिक्लाजुङ कृषि कम्पनी प्रालिले सो फर्म करिब एक वर्षअघि सञ्चालनमा आएको हो ।
माओवादी जनसेनाको झापाको तोपगाछीस्थित मुख्यालय रहेको सो क्षेत्र नजिकै करिब अढाई करोड रुपैयाँको प्रारम्भीक लगानीमा फर्म सुरु भएको हो । सो कृषि फर्म कुमारी लावतीको नेतृत्व रहेको छ । प्रालिको अध्यक्षमा लावती छिन् भने अन्य सञ्चालकमा वसन्त लावती, तारा आङदेम्बे र निर्मला आङ्वो रहेका छन् । सो प्रालिले एक बिगाहा जग्गामा स्थापना गरेको बंगुर फर्ममा हाल विभिन्न जातका एक सय बङ्गुर रहेका छन् । फर्मको संरचना निर्माण कार्य धमाधम भइरहेको छ ।




त्यहाँ थप पाँच सय बंगुरपालन गर्न सकिने प्रालिका सञ्चालक मध्येका स्थानीय तान्छोहाङ आङदेम्बेले जानकारी दिए।
प्रारम्भीक चरणमा पोखरा लाइभस्टक प्रालिबाट ल्याइएका ब्युरेक, हेमसायर, ल्यान्डरुरुस, पाख्रिबास र हर्रा जातका बंगुरका पाठा पालिएको आङदेम्बेले बताए।
सो फर्ममा हाल १५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । फर्मको क्षमता तथा क्षेत्र विस्तार गरिएपछि यहाँ उत्पादन हुने बंगुरको छुट्टै बधशाला समेत सञ्चालन गर्ने योजना प्रालिले बनाएको छ । 'छुट्टै व्यवस्थित किसिमको बधशाला पनि सञ्चालन गरेर यहाँको मासु प्याकिङ गर्ने प्लानमा छौं,’ सञ्चालक आङदेम्बेले भने। पूर्वकै उदाहरणीय बङ्गुर फर्म बनाउन लागिएको बताउँदै उनले भने, 'विदेश छाडेर आफ्नै गाउँघरमा नै आयआर्जनको माध्यम बनाउन यस्तो उद्यम थालिएको हो ।' उनले यसको बजारीकरण गर्नसके यसबाट प्रशस्त आम्दानी लिन सकिने बताए । यहाँ उत्पादित मासु पूर्वका अतिरिक्त काठमाडौं, पोखरा लगायतका सहरमा पनि पुर्‍याउने लक्ष्य राखिएको उनले बताए।








Comments