भूटानी फूटबलरको अमेरिकी चमक





प्रशिक्षार्थीहरुका साथ अमेरिकामा
३४ वर्षअघि दक्षिण भूटानको चिराङ लप्सीबोटेमा जन्मिएका जितु बस्नेतले पश्चिम झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा १८ वर्ष बिताए। त्यो अवधिमा उनीभित्र फूटबल मोह भरियो। शिविरको अभावग्रस्त जीवनमा उनी पूर्वी नेपालका विभिन्न क्लबहरूबाट हाजिरीमा फूटबल खेल्थे। तेस्रो देश पुनर्वासको क्रममा अमेरिका पुगेपछि भने उनको फूटबल सपनाले फक्रने अवसर पाएको छ।




जितु बस्नेतः बेलडाँगीस्थित शरणार्थी शिविरमा

पाँच वर्षअघि अमेरिकाको टेनिसी राज्य पुगेका जितु फूटबलको रेफ्री परीक्षा उत्तीर्ण गरेर प्रशिक्षकको रुपमा कार्यरत छन्। टेनिसी पुगेको दुई वर्षमा उनले अमेरिकी सरकारको फूटबल निकाय 'युएस सकर फेडरेसन'बाट रेफ्री लाइसेन्स पाएका छन्। यो लाइसेन्सले उनलाई टेनिसी राज्यस्तरीय रेफ्रीको मान्यता दिएको छ। उनी दुई वर्षअघि नेस्भिलस्थित क्यामरुन कलेजको फूटबल प्रशिक्षक नियुक्त भएका छन्। “वर्षको दुई सिजनमा कलेजको फूटबल कोच बनेपछि कार र घर जोडिसकेको छु”, जितु भन्छन्।

सहायक प्रशिक्षक पूर्ण खवास

उनको लागि अर्को रमाइलो के छ भने, शरणार्थी शिविरमा छँदा फूटबलमा आफूलाई पछ्याएका पूर्ण खवास (२५) नेस्भिल कलेजमा उनकै सहायक प्रशिक्षक छन्। चउर र बगरहरूमा खालीखुट्टा फूटबल खेल्दै सँगसँगै शिविरको अभावग्रस्त जीवन बिताएका जितु र पूर्णले पछिल्लो एक वर्षमा मुख्य र सहायक रेफ्री भएर अमेरिकाका २२ राज्यका ३५ शहरका मध्यमदर्जाका फूटबल क्लबहरूको प्रतियोगिता गराइसकेका छन्। उनीहरूकै सक्रियतामा पाँच वर्षयता प्रत्येक जून महीनामा अमेरिकास्थित भूटानी टीमहरूबीच पनि डेल्टाकप फूटबल प्रतियोगिता भइरहेको छ। “आउँदो जूनमा चाहिं ४० वटा टीम जुटाउने तयारीमा छौं”, जितु भन्छन्, “त्यसको लागि कम्तीमा पचास हजार डलर चाहिन्छ। पुनर्वास भएको भूटानी समुदायबाट त्यति रकम जुटाउन खासै गाह्रो पनि हुने छैन।”

हिमाल खवरपत्रिकाबाट




Comments