सन्देश सुब्बा इङवा,
२७ कार्तिक, पाँचथर।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन तथा तोकिएकै समयमा संविधान निर्माणका लागि दवाब दिने भएको छ ।
महासंघको आज बसेको कार्यसमिति बैठकले यसका लागि दवाबमुलक अभियान सञ्चालन गर्ने निर्णय गरेको महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुङ्गानाले बताए। बैठकले आगामी मंसीर १५ गतेभित्रमा जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चार माध्यमहरुको सर्वेक्षण गरी प्राप्त विवरणका आधारमा थप कार्यक्रम अघि सार्ने निर्णय गरेको छ ।
त्यस्तै महासंघको गएको कार्तिक १५ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम तोकिएको समयमै संविधान निर्माणका लागि विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जसअन्तर्गत जिल्लाका सञ्चार माध्यमहरुमा 'नेपाली जनतासँग गरेको वाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं' भन्ने मूल नारा नियमित प्रकाशन, प्रशारणका लागि आह्वान गर्ने, संविधानका अन्तरवस्तुमाथि केन्द्रित रही सम्पादकीय, लेखरचना, टिप्पणी, अन्तर्वार्तालगायत नियमित संवाद र विशेष सामग्रीको प्रकाशन, प्रसारणका लागि आह्वान गर्ने, साथै मंसिरको अन्तिम साता जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद, राजनीतिक दल, पेशगत संघ संस्था, नागरिक समाजको उपस्थितिमा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
यसैबीच पाँचथर उद्योग वाणिज्य संघले निकट भविष्यमा निर्माण गर्न लागेको बहुद्देश्यीय भवन निर्माणार्थ भवनको सुभारम्भ समारोहमा बाइस हजार दुई सय बाइस रुपैयाँ सहयोग गर्नेसमेत निर्णय गरेको छ ।

Comments
Post a Comment