खुलेआम सडकमै पेट्रोलको कालोबजारी, पानपसलदेखि किरानासम्म पेट्रोलको ब्यापार






तेज बन विश्वासी
१ मंसीर, इटहरी ।
भनेको बेला नहुने र सम्बन्धीत डिलरहरुमा समेत नपाइने अति आवश्यकीय बस्तु पेट्रोलको कालोबजारी फस्टाएको छ ।
सम्बन्धीत निकाय र सरोकारवालाहरुले उपभोक्ताहरुको गुनासो सुनेर पनि कानमा तेल हालेर बस्दिनाले पूर्वका सहर बजारहरुमा पेट्रोलको कालोबजारी फस्टाएको हो ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीस्थित मुख्य सडक खण्डमा केही ब्यापारीहरुले यतिवेला पेट्रोललाई कमाउ धन्दाको रुपमा प्रयोग गर्न थालेका छन्।
खुद्रे ब्यापारीहरुले सम्बन्धीत डिलरहरुबाट एक पटकमा पाँच लिटरसम्म खरिद गरी मुख्य सडक क्षेत्रमा प्रतिलिटर २ सय ५० रूपैयासम्ममा बिक्री गर्ने गरेका छन् ।




ब्यापारीहरुलाई 'यो अवैध धन्दा हो, यसमा कानुन लाग्छ नि, थाहा छ ?' भनेर प्रश्न गर्दा उनीहरु सोझै भन्छन्, 'क-कसलाई कार्वाही गर्ने ? यहाँ त सबैको ब्यापार नै यही हो ।'
यस्तै पेट्रोलको बिषयमा जानकारी लिने क्रममा आफ्नो नाम नबताउने सर्तमा एक ब्यापारीले पथरी बजारको कुना काप्चादेखि पान पसल र किराना पसलसम्म पेट्रोलको कारोवार हुने गरेको बताए ।
त्यस्तै सडककै एक छेउमा पेट्रोल बेच्न बसेका सन्तबहादुर मगरले 'पथरीमा कुनै पेट्रोल पम्प नभएकोले अलिकति मुल्य बढाई बिक्री बितरण गरेको र यसलाई कालोबजारी नभएर सेवा गरेको' जिकिर गरे । प्रहरीले देखे कार्वाही गर्दैन ? भन्ने प्रश्नमा उनले प्रहरी आफैं आफुकँहा किन्न आउने गरेको बताए ।
मोरङको पथरी क्षेत्रमा कुनै पेट्रोल पम्प नभएको फाइदा उठाउँदै ब्यापारीहरुले खुलेआम पेट्रोलको कालोबजारी गरिरहँदासमेत सम्बन्धीत प्रहरी प्रशासन भने रमिते बन्ने गरेका छन् ।
यस बिषयमा इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रुद्र चुडालसँग सम्पर्क गर्दा उनले कार्वाही गर्ने निकाय प्रहरी प्रशासन नभएर आयल निगम रहेको बताउँदै आयल निगमलाई सबै कुराको जानकारी रहेको तर कार्वाही गर्न किन नसकेको आफै छक्क परिरहेको बताए ।
आयल निगम क्षेत्रीय कार्यालय बिराटनगरले कार्वाहीको आदेश दिएमा तथा स्थानीय स्तरबाट कुनै उजुरी दिएमा मात्र प्रहरीले कार्वाहीको प्रक्रिया बढाउने प्रहरी निरीक्षक चुडालले बताए ।







Comments