छात्रा बलात्कार गर्न खोज्ने शिक्षक विरूद्ध मुद्दा दर्ता




१० मंसीर, विर्तामोड।
झापा विर्तामोड नपा ६ स्थित न्युटन एजुकेसन फाउण्डेसनको गल्स होस्टलकी १४ बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका गर्ल्स होस्टलका इन्चार्ज भारतीय नागरिक अन्दाजी ३५ बर्षिय सुप्रिया दासविरुद्ध प्रहरीले मंगलबार अदालतमा लगि म्याद थप गरेर मुद्दा दर्ता गरेको छ ।
विगत ४ बर्षअघिदेखि उक्त होस्टेलमा बसेर अध्ययनरत रही हाल कक्षा १० मा पढिरहेकी र एसएलसी परीक्षाको तयारीमा रहेकी ती बालिकालाई पछिल्लो पटक गत कार्तिक २८ गते आरोपीले होस्टलको आफ्नै कोठामा लगेर बलात्कारको प्रयास गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । बलात्कार प्रयास गर्दागर्दै अन्य दुई छात्राले थाहा पाएपछि दासले पीडित छात्रालाई छोडेका थिए । घटना सार्वजनिक गरे विद्यालयबाट निकालिदिने, एसएलसी परीक्षामा सामेल नगर्ने र मारिदिनेसम्मको धम्की दासले दिएपछि उनी पढाई छोड्न बाध्य भएकी छन् ।



विद्यालयको होस्टेलमा बस्दै आएकी ती छात्राका आमाबाबु भारतको बैङलोरमा बस्छन् । विद्यालयकै संरक्षण र जिम्मामा ती छात्रालाई छोडिएको थियो ।आरोपी दासको शारीरिक तथा मानसिक यातनाका कारण उनको स्वास्थ्य अवस्था पनि कमजोर बन्दै गएको पीडित परिवारको दावी छ । उक्त विद्यालयमा अध्ययनरत ती छात्राका परिवारले मङ्गलवार पत्रकार सम्मेलन गरी होस्टल प्रशासनले उल्टै हप्काएर घटना सार्वजनिक गरे ठीक नहुने भन्दै धम्की दिएको जनाएको छ ।
पीडितका आफन्त कमल भण्डारीले घटना सार्वजनिक नगर्न होस्टल प्रशासनले पटक-पटक दवाव दिएको बताए । 'न्याय दिनुको सट्टा उल्टै धक्की दिइयो', उनले भने । होस्टलमा अध्ययनरत छात्राहरुका अनुसार दासले उनीहरुलाई खुट्टा ढोगाउने गर्दै आएका छन् । महिनावारी भएको समयमा पनि पेट दुखेर औषधि माग्दा 'हो होइन चेक गर्नुपर्छ' भन्दै दासले संवेदनशील अङ्गमा हात पुर्‍याउने गरेको होस्टलकै एक छात्राले बताइन् ।
पीडित परिवारले न्यायका लागि पहल गरिदिन अधिकारवादी सङ्घसंस्थाको ध्यानाकर्षण पनि गराएको छ । घटनापछि पीडित परिवारको जाहेरीका आधारमा भारतीय नागरिक दासलाई इलाका प्रहरी कार्यालय विर्तामोडले गएको आइतबार गते गिरफ्तार गरेको छ । पक्राउ परेका दासउपर जवरजस्ती करणी उद्योगमा मुद्दा दायर गरिएको विर्तामोड प्रहरीका डीएसपी सञ्जयबहादुर राउतले बताए ।
घटनाका विषयमा न्युटन एजुकेसन फाउण्डेसन प्रशासनले भने औपचारिक रुपमा कुनै धारणा सार्वजनिक गरेको छैन । पीडीत परिवारले इन्सेकसँग पीडीतलाई सहयोग र आरोपीतलाई कानूनी कारबाहीको लागिसमेत माग गरेका छन् ।





Comments