पत्रकार भट्टराईमाथि आक्रमण, ससपाका जिल्ला अध्यक्षसहित चार पक्राउ






९ मंसीर, उदयपुर।
समाचारको बिषयलाई लिएर प्रेस चौतारी उदयपुरका कोषाध्यक्ष तथा बरुवा टाइम्स दैनिकका उपसम्पादक रामप्रसाद भट्टराई (सचिन) माथि मंगलबार संघीय समाजबादी पार्टीका जिल्ला अध्यक्ष सहितका नेताहरुले सांघातिक आक्रमण गरेका छन् ।
अक्रमणमा संलग्न संघीय समाजवादी पार्टी उदयपुरका अध्यक्ष सिद्धान्त राई, जिल्ला उपाध्यक्ष घनश्याम कट्वाल, अग्रगामि विद्यार्थी यूनियनका केन्द्रिय सदस्य सचिव केशव राई र जिल्ला अध्यक्ष अन्जिल राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी अजय भट्टराईले जानकारी दिए । जाहेरीका आधारमा प्रहरीले तत्काल चारै जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । उनीहरुलाई घट्नास्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी टेक बाहादुर गुरुङले बताए ।





मंसिर ९ गते बिराटनगरबाट प्रकाशित उज्यालो पत्र दैनिकमा 'अशोक राई एक्लिँदै' शिर्षकको समाचारको बिषयलाई लिएर राई नेतृत्वको संघीय समाजबादी पार्टीका जिल्ला अध्यक्ष सिद्धान्त राई, उपाध्यक्ष घनश्याम कटुवाल, अग्रगामि बिद्यार्थी युनियनका जिल्ला अध्यक्ष एन्जिल राई, बिद्यार्थी युनियनका केन्द्रीय सदस्य सचिब केशव राईले पत्रकार भट्टराईलाई अन्धाधुन्ध आक्रमण गरेका हुन् ।
बिहान ११ बजे पत्रिका पसलमा जाँदै गर्दा उनीहरुले सदरमुकाम गाईघाटस्थित आँपटार चियापसलमा बोलाएर आफुमाथि आक्रमण गरेको पत्रकार भट्टराईले बताए । आक्रमणबाट भट्टराईको गाला र ढाडमा चोट लागेको छ । कुटपीटपछि भट्टराईले मंगलबार नै जिल्ला प्रहरी कार्यालय उदयपुरमा संघीय समाजबादी पार्टीका जिल्ला अध्यक्ष राई, उपाध्यक्ष कट्वाल, अग्रगामि विद्यार्थी युनियनका केन्द्रिय सदस्य सचिव केशव राई र जिल्ला अध्यक्ष अञ्जिल राईमाथि किटानी जाहेरीसहित सार्वजनिक मुद्दा दायर गरेका छन् ।
यसैबीच पत्रकार आक्रमणको घट्नालाई लिएर नेपाल पत्रकार महासंघ उदयपुर र प्रेश चौतारी शाखा उदयपुरले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै घट्नाको घोर भर्त्सना गरेको छ । विज्ञप्तीमा लोकतन्त्र प्राप्ति पछिपनि सिंगो प्रेस स्वतन्त्रताको अधिकारलाई कुण्ठित गर्दै कानुनमाथि धावा बोल्नु कानुन विपरित भएको भन्दै घट्नाको ध्यानाकर्षण भएको जनाइएको छ । महासंघका जिल्ला अध्यक्ष कुशलबावु वस्नेत र प्रेस चौतारीका जिल्ला अध्यक्ष भरत खड्काद्वारा हस्ताक्षरित छुट्टाछुट्टै विज्ञप्तीमा अन्याय महसुस भए समाधान खोज्ने विधि र प्रकृया हुँदाहुँदै सार्वजनिक ठाउँमा पत्रकारमाथि ठाडो आक्रमण गर्नु लोकतन्त्रप्रति प्रहार भएको उल्लेख गरिएको छ ।
यस्तैगरी पत्रकार आक्रमणप्रति नेकपा एमाले उदयपुर, अनेरास्ववियु लगायतले भर्त्सना गर्दै दोषिमाथि कानुनी कारवाहीको माग गरेका छन् । भट्टराई उज्यालो पत्र दैनिकका सम्बाददाता र बरुवा टाइम्स दैनिकका उपसम्पादक हुन् ।




Comments