मालबाहक ट्रक पल्टिँदा १ को मृत्यु ९ घाइते

तेजन खड्का
७ मंसीर, राजघाट ।
उर्लावारी-बरडंगा सडकअन्तर्गत मोरङको राजघाट ९ खाइबाचोकमा व्यापारीको सामान बोकेको ट्रक पल्टिँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
राजघाटको दुर्गापुरी बजारबाट सामान बोकेर उर्लावारीतर्फ जाँदैगरेको को १ ख ८८४ नम्बरको ट्रक शनिबार साँझ सवा ६ बजेतिर अचानक पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उर्लाबारी १ का १७ बर्षीय युवराज कटुवालको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



घाइतेमध्ये मोरङ उर्लाबारी-३ का ४४ वर्षीय रामदेव पोद्धार, ५४ बर्षीय प्रकाश पोद्धार, उर्लाबारी-१ का २२ बर्षीय अनिल धिमाल र अन्य नाम नखुलेका ३ जनाको बिराटनगरस्थित न्युरो हस्पिटलमा उपचार भइरहेको छ । यस्तै, उर्लाबारी-४ का ४० वर्षीय ललिता शाह र १६ वर्षीय चन्द्र थापाको उर्लाबारी हस्पिटल र २० वर्षीय जनम अधिकारीको गोदावरी हस्पिटल प्रालिमा उपचार भइरहेको छ । ट्रकमा कतिजना यात्रु सवार थिए, खुल्न नसकेको प्रहरीले जनाएको छ ।



ट्रकका चालक मैदिन मिया फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक नबराज कार्कीले जानकारी दिएका छन् ।
दुर्घटनाग्रस्त ट्रक धेरै पुरानो, क्षमता भन्दा बढी समान लोड गरेको र साँघुरो सडक भएको कारण पल्टिएको स्थानीयको भनाई रहेको छ ।
स्थानीयवासी, इलाका प्रहरी कार्यलय उर्लाबारी र राजघाट प्रहरी चौकीको संयुक्त टोलीले सामानधनी पहिचान गरी ट्याक्टरबाट सो सामान पुर्‍याइदिएको छ।
चालकको लापरवाहिका कारण दुर्घटना भएको स्थानीयले बताएका छन् ।

Comments