१० शाखाद्वारा संयुक्त रूपमा जेसीस सप्ताह शुरू





५ मंसीर, विर्तामोड।
नेपाल जेसीज अन्तरगत झापाका १० जेसीज शाखाले आज शुक्रबारबाट संयुक्त जेसीज सप्ताह शुरु गरेका छन् । नेपाल जेसीज स्थापानाको स्वर्ण महोत्सवको अवसर पारेर जेसीजका शाखाहरुले झापामा पहिलोपटक संयुक्त रुपमा जेसीज सप्ताह शुरु गरेको वीरता जेसीसका कार्यकारिणी उपाध्यक्ष एकराज गिरीले जानकारी दिए ।
सप्ताहको आज शुक्रबार विहान विर्तामोडमा प्रमुख अतिथिको तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले उद्घाटन गरे । सप्ताह उद्घाटनसँगै रक्तदान समेत भएको कार्यक्रम बीरता जेसीजका अध्यक्ष विशाल थापा र बीरता लेडी जेसीजकी अध्यक्ष मीरा बजगाईको संयुक्त अध्यक्षतामा भएको थियो ।



कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति एवम् केन्द्रीय सदस्य लोकराज ढकाल, बीरता लेडी जेसीजकी पूर्व अध्यक्ष कञ्चना सिटौला र वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।
बीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवाल र सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीला चिमरिया सप्ताहको मूल संयोजक रहेको कार्यक्रममा आस्थावाचन पार्वता विमली र सञ्चालन वीरता जेसीजका महासचिव राजिव धिमालले गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि मूल संयोजक मध्येका अग्रवालले प्रकाश पारेको समारोहमा स्वागत वीरता जेसीजका अध्यक्ष थापाले गरेका थिए ।
सप्ताह अन्तरगत बीरता जेसीजको जिम्मेवारीमा उद्घाटन समारोह परेको थियो भने र वीरता लेडी जेसीजको जिम्मेवारीमा परेको रक्तदान नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न भएको छ ।



शुक्रबार नै सप्ताह अन्तरगत मेचीनगर लेडी जेसीजले धुलाबारीमा जिल्ला स्तरीय गायन प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार भद्रपुर जेसीजले जिल्ला कारागारमा कैदीहरुका लागि स्वाथ्य शिविर सञ्चालन गर्ने र बुधबारे जेसीजले पत्रकार महासंघसँग मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम छ । त्यस्तै, आइतबार धुलाबारी जेसीजले म्याराथन दौड, चारआली जेसीजले खुल्ला स्लो मोटरसाइकल र स्कुटी रेस राखेको छ भने बाहुँनडागी जेसीजले हात्ती समस्या तथा समाधान सम्बन्धी अन्तरक्रियाको तयारी गरेको छ । सप्ताह अन्तरगत मंसीर ८ गते सोमबार सुरुङ्गा जेसीज र सतासीधाम जेसीजले जामुनखाडीमा सप्ताह समापन र बनभोजको आयोजना गर्ने जनाइएको छ ।
सप्ताह उद्घाटन समारोहमा भद्रपुर जेसीजका अध्यक्ष अभिषेक ढुंगाना, सुरुङ्गा जेसीजका अध्यक्ष शिव कँडेल, धुलाबारी जेसीजका अध्यक्ष दीपेन्द्र कार्की, बाहुँनडागी जेसीजका अध्यक्ष उत्तम तामाङ, बुधबारे जेसीजका अध्यक्ष फडिन्द्र चापागाई, मेचीनगर लेडी जेसीजकी अध्यक्ष कविता शर्मा, सतासीधाम जेसीजका अध्यक्ष जीवन गिरी र चालआली जेसीजका संस्थापक अध्यक्ष विष्णु रिमालको समेत उपस्थिति थियो ।




Comments