व्यापार- व्यवसाय प्रवर्द्धनबारे रविमा अन्तरक्रिया






७ मंसीर, दमक।
झापाको दमक र पूर्वी पहाडी जिल्लाको व्यापार व्यवसायमा सहजता तथा प्रवर्द्धनका लागि व्यवसायी अगुवाहरुबीच पाँचथरको रविमा अन्तरक्रिया सम्पन्न भएको छ ।
पाँचथर उद्योग वाणिज्य संघ रवि शाखाको रविस्थित कार्यलयमा शनिबार भएको अन्तरक्रियामा झापाको दमक र पाँचरथरका उद्यमी व्यवसायीहरु सहभागि थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका मेची अञ्चल प्रतिनिधी तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईले दमकसंग प्रत्यक्ष सरोकार राख्ने इलाम र पाँचथरको मुख्य बजार क्षेत्रका उद्योगी व्यवसायीहरुबिच आपसी समन्वयको खाँचो रहेको बताए । उनले यातायातको विकासले यस क्षेत्रको व्यापार व्यवसाय प्रवर्द्धन हुने कुरामा कसैको दुइमत नभएकाले सडक सञ्जाल विस्तार र विकासका लागि नीजि क्षेत्र पनि सरकारसंग सहकार्य गर्न तयार हुने बताए । उनले निकट भविष्यमा हुने महासंघको केन्द्रीय समिति बैठकमा सो बारे आफुले प्रस्ताव लैजाने पनि बताए ।


वाणिज्य संघका रवि शाखा अध्यक्ष महेन्द्र राईले त्यस क्षेत्रका उद्यमी व्यवसायीहरुले विभिन्न बस्तुको झापा तर्फआयात निर्यातका क्रममा भोग्नु परेको यातायात तथा असुरक्षा सम्बन्धिका समस्याबारे जानकारी गराएका थिए । उनले व्यवसायिक सुरक्षाका लागि ठाउँ ठाउँमा प्रहरी बिट तथा सशस्त्र प्रहरीको बेस क्याम्प विस्तार गरिनुपर्ने पनि बताए । अध्यक्ष राईले दमक रवि सडकको विकास अपेक्षाकृत रुपमा नभएको र बारम्बार आउने सरकारी बजेट समेत तल्लो क्षेत्रमा मात्रै खर्चिनाले पहाडी भेगका उपभोक्ता तथा व्यवसायीहरुले समस्या भोग्नु परिरहेको बताए । कार्यक्रममा सभासद महेन्द्रकुमारी लिम्बुले सो सडकको विकासका लागि आफ्ना तर्फाट माथिल्लो निकायमा पहल गर्ने बताइन् ।
कार्यक्रममा सो क्षेत्रका अगुवा व्यवसायी भविन राई, दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्यहरु विमल खतिवडा, तारा अधिकारी, यशोदा भट्टराई (रेखा) लगायत दमक र पाँचथर, इलामका उद्यमी व्यवसायीहरुको सहभागिता थियो ।







Comments