जनताको भावना र संस्कृति नै राष्ट्रियता





१२ मंसीर, बिर्तामोड ।
नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले देश र राष्ट्रियता भनेको ढुंगा-माटो मात्र होइन, त्यहाँ बस्ने जनताको भावना र संस्कृति नै राष्ट्रियता भएको बताएका छन् ।
कालिकापीठ शनिश्चरेको ११औं वाषिर्कोत्सव कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांस्कृतिक सर्जक भण्डारीले भने, 'नेपालको सन्दर्भमा शैव र बौद्ध संस्कृति नै अमूल्य निधि र सम्पदा हुन्, यिनको संरक्षण नै राष्ट्रियताको सम्वर्द्धन हो ।'
शिवले बास गरेको र बुद्ध जन्मिएको भूमि नेपालमा शिव संस्कृति र बुद्ध संस्कृतिको सँगसँगै विकास हुन सकेमात्र देशको समग्र हित हुने भनाई राख्दै प्रमुख अतिथि भण्डारीले देश र समाजलाई विशिष्ठ योगदान पुर्‍याउनेहरुको सम्मानले राष्ट्रिय गौरव बढाउने विचार व्यक्त गरे।



नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सामाजिक सेवा र धर्म-संस्कृतिको संरक्षण कठिन कार्य भए पनि सामाजिक अभियन्ताहरुले यस क्षेत्रमा लागि रहनुपर्ने भनाई राखेका थिए ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईंले गुरुकुलहरुमा महिलाहरुलाई पनि वैदिक शिक्षा पठन-पाठक गराउँदै संस्कृति संरक्षणमा सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
योगी नरहरिनाथ स्मृति अन्तर्राष्ट्रय परिषदका अध्यक्ष गोविन्द काफ्लेले भाषा-संस्कृति, धर्म र परम्पराको संरक्षणले मात्र राष्ट्रिय पहिचानको संरक्षण हुने धारणा राखेका थिए ।
साहित्यकार रोहिणीविलास लुइँटेल र पीठका सल्लाहकार बलदेव गोम्देनले कालिकापीठको प्रबर्द्धनका लागि सञ्चारकर्मीहरुबाट प्रचारको सहयोग हुने विश्वास व्यक्त गरेका थिए ।
वाषिर्कोत्सवका अवसरमा कालिकापिठमा सात दिने श्रीमद् वराह महापुराण आयोजना गरिएको छ ।
वार्षिकोत्सव आयोजक समितिका संयोजक डिल्लीराम दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा कर्ण बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद मिश्रले गरेका थिए ।
कालिकास्थान संस्कृत विद्या पीठका बटुकहरुले गायत्री मन्त्र र स्वस्तीवाचन गरेपश्चात प्रमुख अतिथिले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।





सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष लोकराज ढकाललाई सम्मान गरेको छ ।
पीठको ११औं वाषिर्कोत्सवका अवसरमा अर्जुनधारा दैनिकका सल्लाहकार सम्पादक समेत रहेका ढकाललाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रमा आयोजक समितिका संयोजक डिल्लीराम दाहालले ढकाललाई सम्मानस्वरुप नगद पाँच हजार रूपैयाँ प्रदान गरेका थिए । उक्त राशी सम्मानित प्रतिभा ढकालले कालिका संस्कृत विद्यापीठको उन्नतीका लागि हस्तान्तरण गरेका थिए ।



सम्मानित प्रतिभा ढकाल नेपाल पत्रकार महासंघ झापाका संस्थापक सदस्य, पूर्व सचिव, हाल केन्द्रीय प्रतिनिधि हुन् भने नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष र पूर्व केन्द्रीय सदस्य हुन् ।
गोरखा पत्र दैनिकमा लामो समय झापा समाचारदाताकारुपमा कार्यसम्पादन गरिसकेका ढकालले प्रेस काउन्सिल नेपालद्वारा प्रदान गरिने युवा सशक्तिकरण पुरस्कार (२०७०) लगायत थुप्रै अन्तर्राष्ट्रिय स्तरका पुरस्कारहरु प्राप्त गरिसकेका छन् ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य र झापा सभापति समेत रहेका ढकालले प्राकृतिक प्रकोपको विपत्तिमा परेका मानिसहरुको उद्धारमा नेपालका अधिकांस जिल्लाको स्थलगत भ्रमण गरिसकेका छन् भने हाइटी, बंगलादेश लगायतका मुलुकहरुमा भएका भुकम्प र आँधी जस्ता प्राकृतिक प्रकोपको समस्यामा परेकाहरुको उद्धारमा र मानवीय सहयोगमा कार्यसम्पादन गरिसकेका छन् ।
पीठले प्रत्येक वर्ष समाजसेवा, शिक्षा, साहित्य र पत्रकारिता क्षेत्रमा क्रियाशिल रही विशिष्ठ योगदान पुर्‍याउने झापा जिल्लाका एक प्रतिभालाई सम्मान गर्ने थालनीस्वरुप पहिलो वर्षको सम्मान ढकाललाई प्रदान गरेका हो ।

Comments