पशुहाट क्षेत्र व्यवस्थित गरिँदै


१३ मंसीर, दमक।
झापाको दमक -१२ स्थित पशुहाटमा रहेको अब्यवस्थित बसोवास हटाइने भएको छ । सो क्षेत्र व्यवस्थित बनाउने अभियानमा स्थानीय राजनीतिक दलहरु सहमत भएका छन् । पशुहाटमा रहेका घर, टहरा र छाप्रो हटाउने काममा १६ वटा दमकका राजनीतिक दलहरुले सहमति जनाएका हुन् ।
शुक्रबार नगरपालिकामा भएको सर्वदलीय बैठकले पशुहाट लगायतका क्षेत्रमा भएको अब्यवस्थित बसोवास हटाउने निर्णय भएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत युवराज दाहालले बताए । नगरपालिकाको अभियानलाई सफल पार्न स्थानीय राजनीतिक दलहरुले सहयोग गर्नेसमेत निर्णय भएको उनले बताए।
बृहत पशुहाट सुधार आयोजना लगायतका कामहरु ब्यवस्थापन गर्न कठिनाई भएकाले पशुहाटलाई व्यवस्थित गर्न स्थानीय स्तरमा पहल थालिएको दाहालको भनाई छ । उनले भने, 'अव छिट्टै कामले तिब्रता पाउनेछ ।'


-->


लामो समयदेखि पशुहाट अतिक्रमणको चपेटामा परेको थियो । २०३२ सालमा तत्कालिन गाउँ पञ्चायतले पशुहाट लगाउन थालेको थियो । सो पशुहाट देशभरिको सवैभन्दा ठुलो पशुहाटको रूपमा परिचित छ ।
नगरपालिकाले बार्षिक ५० लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्दै आएको सो पशुहाटको करिव ३ विगाहा क्षेत्रफल नगरपालिकाको भोगाधिकारमा पर्दछ। त्यहाँ कम्तिमा ६० घर बनेका छन् ।
२०४४ सालतिर विभिन्न बहानामा पशुहाट क्षेत्रभित्र अतिक्रमण गरी घर बनाउने क्रम भएको दमक नगरपालिकाका पूर्व नगर प्रमुख रोमनाथ ओली बताउँछन् । 'कोही सुकुम्बासी छन् भने कोही जग्गावालाहरु नै पशुहाटको जग्गामा बसोबास गर्दैआएका छन्, 'पूर्व नगर प्रमुख ओलीले भने, 'पछि विस्तारै पशुहाट अतिक्रमण जटिल बन्दै गयो ।'
पटक पटक पशुहाट क्षेत्र व्यवस्थित गर्न स्थानीय स्तरमा पहल गरिएपनि राजनीतिक हानथापले त्यसले पूर्णता पाउन सकेको थिएन् । स्थानीय सुकुम्बासी तथा त्यहाँ बस्दै आएका सर्वसाधारणहरुलाई दलहरुले उचालेर पटक पटक अवरोध पुर्‍याउँदै आएका थिए । कतिपय दलहरुले चुनाव ताका त्यहाँको जग्गाको भोगाधिकार दिलाउने भन्दै आएका पशुहाट क्षेत्रमा बस्दै आएका सर्वसाधारणहरु बताउँछन् ।

-->


तर अहिले पशुहाटसँगै नगरको दीर्घकालिन योजनामा नगरपालिकाले अभियान थालेकोमा नगर व्यवस्थित हुने आशा जगाएको छ ।
पशुहाटभित्र बसोवास गरेका ब्यक्तिले एक महिनाभित्र घर, टहरा र छाप्राहरु भत्काउनु पर्ने र सो समयमा नभत्काएमा नगरपालिका आफैंले भत्काउने निर्णय पनि गरेको बैठकमा सहभागी नेकपा एमाले दमक नगर अध्यक्ष अम्विका खनालले बताए।
अब्यवस्थित संरचनाहरु हटाउन सहमति जनाउने राजनीतिक दलहरुमा नेपाली कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रापा, नेकपा माले, नेकपा माओवादी, राष्ट्रिय जनमुक्ति पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, लिम्वुवान मुक्ति मोर्चा, नेकपा एकीकृत, संघीय समाजवादी पार्टी, संघीय मधेश समाजवादी, राष्ट्रिय स्वाभिमान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका स्थानीय प्रतिनिधिहरुले सामूहिक रुपमा पशुहाट सुधार गर्न सवैले पहल गर्नु पर्ने भन्दै प्रतिवद्धतासहित अपिल निकालेका छन् ।
-->

Comments