पथरी गोल्डकप फूटबलको तयारी पूरा





३ मंसीर, दमक।
मोरङको पथरीमा भोलिबाट सञ्चालन हुने दोस्रो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फूटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
मंसीर १३ गतेसम्म जाँतेमोडमा सञ्चालन हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक पथरी स्पोर्टिङ क्लबका अध्यक्ष धनकुमार तामाङले जानकारी दिए ।
प्रतियोगिताका लागि बाँसको प्याराफिट बनाउने काम सम्पन्न भइसकेको छ भने गेट निर्माण र मैदानको घेराबारा समेत भइसकेको छ ।



प्रतियोगितामा काठमाडौंको नेपाल पुलिस, चर्च व्वाइज, सरस्वती क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी बल तथा भारतको दार्जिलिङस्थित कञ्चनजंघा फुटबल क्लब र सिक्किमको सुनान्चु क्लबको समेत सहभागिता रहने भएको छ ।
यता पूर्वाञ्चलबाट डीसीटी सुनसरी, झापा ११ र आयोजक पथरी स्पोर्टिङ क्लबको सहभागिता रहने छ । जसमा डीसीटी सुनसरी र चर्च व्वाइज काठमाडौंबीच उद्घाटन खेल हुने छ ।
गोल्डकपको विजेतालाई १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद रकमबाट बढाएर यस वर्ष २ लाख २ हजार २ सय २२ रुपैयाँ पुर्‍याइएको छ । उपविजेताले भने १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

Comments