१५ हजारको लगानीले बनायो करोडपति




तेज बन विश्वासी, इटहरी ।
हातमा सिप र काम गर्न जाँगर भए जे पनि गर्न र समाजमा नाम कमाउनुका साथै आर्थिक रुपमा सम्पन्न हुन सकिन्छ भन्ने गतिलो उदाहरण हुन्, इटहरीका व्यवसायी निर्मल श्रेष्ठ ।

३ वर्षअघि आफूले पालेका कुखुराहरुमा एक्कासी बर्डफ्लु देखिएपछि लाखौं नोक्सानी बेहोरेका ब्यवसायी श्रेष्ठले त्यही व्यवसायलाई नै निरन्तरता दिँदै आज समाजमा उदाहरणीय ब्यक्तिको पहिचान बनाउन सफल बनेका छन् ।
६ वर्षअघि प्रहरीको जागीरसमेत लत्याएर कुखुरा व्यवसायमा लागेका श्रेष्ठले ब्यवसायबाट सफलता पाएपछि हाल कुखुरासँगै भैंसी, राँगा र बाख्रा पनि पाल्न थालेका छन् ।
इटहरीमा आएर १५ हजार रूपैयाँमात्र लगानी गरी ब्यवसाय सुरु गरेका श्रेष्ठले अहिले डेढ करोडको कारोवार गर्न थालेका छन्। पहिलोपटक २० लाखको कारोवारसम्म आइपुग्दा आफूले पालेका कुखुरामा बर्डफ्लु भेटिएपछि ठुलो नोक्सानी बेहोरे पनि परिवारबाट पाएको सान्त्वना आफ्नो लागि बरदान सावित भइदिएको ब्यवसायी श्रेष्ठ बताउँछन् । उनले मासिक ३ लाख देखि ५ लाख सम्मको कारोवार हुने गरेको बताए ।



पहिला कुखुरा मात्र पालन गर्दै आइरहेका ब्यवसायी हाल ८५ भन्दा बढी राँगा भैंसी र २५ भन्दा बढी खसी बाख्रा पालेर बजारमा बिक्री गर्न ब्यस्त बनेका छन ।
भारतको बिभिन्न क्षेत्रबाट ५ हजार देखि १५ हजार रूपैयाँसम्म लगाएर किनेका राँगाहरु यतिवेला ३० हजारका दरले बिक्री गर्न पाउँदा ज्यादै खुसी देखिन्छन् उनी । यतिमात्रै नभएर उनले आफ्नै २ बिगाहा जमिनमा उन्नत जातका घाँसहरु उत्पादन गरी पालेका चौपायाहरुको आवश्यक्ताहरु पूर्ति गर्दै आइरहेका छन्।
उनले सरकारले पशुपालक कृषकहरुको बिषयमा अध्ययन गरी उचित सल्लाह र बिशेष नीति बनाउन सके पशुपालनतर्फ युवाहरू आकर्षित बन्दै जाने र बेरोजगार युवाहरुको संख्या पनि घट्दै जाने ब्यवसायी श्रेष्ठको बुझाई छ ।
(सञ्चारकर्मी दिपक कार्कीको सहयोगमा)






Comments