सार्क सम्मेलनको ध्यान खिच्न शिविरमा भुटानी शरणार्थीहरु धर्नामा




९ मंसीर, दमक।
भुटानी शरणार्थीहरुको दिगो समस्या समाधान हुनुपर्ने माग राख्दै यहाँ रहेका भुटानीहरुले धर्ना दिने भएका छन् । काठमाण्डौमा आयोजना भएको १८ औं सार्क शिखर सम्मेलनमा सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुको ध्यान खिच्न उनीहरुले बसोबास गरिरहेका झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा धर्नाको कार्यक्रम सार्वजनिक गरेका हुन् ।
भुटानी शरणार्थी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिले भोलि बुधबारदेखि ३ दिने धर्नाको कार्यक्रम सार्वजनिक गरेको हो ।
झण्डै अढाई दशकदेखि झापा र मोरङमा बसोबास गरिरहेका भुटानी शरणार्थीहरुलाई तेश्रो देश पुनर्स्थापना मात्र गराएर स्वदेश फिर्तीको पहल नगरिएको भन्दै नोवेम्बर २६ देखि २८ सम्म शिविरमा नै धर्ना बस्न लागिएको समितिका संयोजक हर्कजंग सुब्बाले जनाएका छन् ।




यसैगरी नेशनल रिकन्सिलेसन कमिटी भुटानले समेत सार्क शिखर सम्मेलन क्षेत्रीय मुद्दाहरुको छलफल र बहस गर्ने थलो भएकाले यस अवसरमा भुटानी शरणार्थी समस्याको दिगो समाधान खोज्न आग्रह गरेको छ । पटक पटकका द्विपक्षीय वार्ताले समेत शरणार्थी समस्या समाधान गर्न नसकेको भन्दै कमिटीले सदाका लागि शरणार्थी हुनु पर्ने अवस्थाको अन्त्य गर्न आग्रह गर्दै सार्क राष्ट्र तथा सरकार प्रमुखहरुलाई ध्यानाकर्षण पत्र समेत पठाएको छ ।
यसअघि भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीको अभियानको नेतृत्व गर्दै आएको भुटानी शरणार्थी प्रतिनिधी स्वदेश फिर्ती समितिले समेत सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुलाई भुटानलाई आफ्ना नागरिक स्वदेश फर्काउन दवाव दिन आग्रह गरिसकेको छ ।
करिव २३ वर्षदेखि झापा र मोरङका बिभिन्न शिविरमा बसोबास गर्दै आएका शरणार्थीमध्ये अधिकांश बिभिन्न पश्चिमा मुलुकमा पुनर्स्थापित भइसकेका छन् ।
नेपाल र भुटानबीच बिभिन्न चरणमा भएका वार्ता समेत निश्कर्षबिहिन भएकाले शरणार्थी अगुवाहरुले भुटानी नागरिकलाई स्वदेश फिर्तीको वातावरणको लागि भारतको चासो र क्रियाशिलता आवश्यक रहेको बताउँदै आएका छन् ।











Comments