२६ कार्तिक, दमक।
झापामा सुकुम्बासी समस्या समाधान आयोगले सुकुम्बासीहरुको वसोवास रहेको जग्गाको स्वामित्व प्रदान गर्न सिफारीस मागेसँगै स्थानीय निकायहरूमा सर्वसाधारणको भिड लागेको छ ।
वसोवासको सिफारीसका लागि आउने सर्वसाधारणको भीड व्यवस्थापन गर्न नसक्दा दमक नगरपालिकाले कार्तिक २१ देखि २३ गतेसम्म सो सम्बन्धी कामकाज नै वन्द गर्नुपरेको थियो । २४ गते यता नगरपालिका कार्यालयमा नगरका विभिन्न वडाबाट दैनिक ४ सयभन्दा बढि सर्वसाधारण सिफारिसका लागि आउने गरेको नगरपालिकाका समाज कल्याण शाखा प्रमुख डम्बर वरालले जानकारी दिए ।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले सुकुम्बासीले भर्नुपर्ने आवेदन फारम सकिएका कारण आन्तरीक व्यवस्थापन मिलाउनका लागि दुई दिन सो सम्बन्धी प्रमाणित सिफारीस वन्द गरिएपनि हाल चालु रहेको बताए । उनले टोल विकास संस्थाले वसोवासको सिफारीस गरेका परिवारलाई मात्र आयोगसमक्ष नगरपालिकाले पनि सिफारीस गर्ने गरेको जानकारी दिए । एउटै परिवारका सदस्यहरुसमेत अलग भई आयोगमा सिफारीसका लागि निवेदन दिन आउने गरेको समाचार स्रोतको भनाई छ ।
शिवगञ्ज गाविसले समेत दैनिक करिव एक सयको संख्यामा सुकुम्वासी आयोगमा वसोवासको सिफारीस गर्ने गरिएको जनाएको छ । गाविस सचिब गंगा प्रसाद भट्टराईले सिफारीसका लागी सर्वसाधारणहरुको भिड लाग्ने गरेको वताए । उता महाभरा गाविसले भने न्यून संख्यामा मात्रै सुकुम्वासीहरु सिफारीसका लागि आएको जनाएको छ । गाविस सचिब टंक दुलालले हालसम्म करिव ३० परिवारले मात्रै सो गाविसबाट वसोवासको सिफारीस आयोगसमक्ष लगेको जानकारी दिए । उनका अनुसार वर्तमान आयोगले प्रतिपरिवार पाच कठ्ठाभन्दा बढि जग्गा वसोवासका लागि प्रदान नगर्ने भन्ने अनौपचारीक जानकारी विभिन्न राजनैतिक दलमार्फत सर्वसाधारणमा पुगेको कारण न्यून संख्यामा सिफारीसका लागि आएका हुन् ।

Comments
Post a Comment