दार्जीलिङद्वारा आयोजक पराजित




५ मंसीर, पथरी।
मोरङको पथरी शनिश्चरेस्थित पथरी बजारमा जारी मोरङको पथरीमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा आयोजकलाई पाखा लगाउँदै भारतको दार्जीलिङस्थित कंचनजंघा फुटबल क्लब विजयी भएको छ ।
निर्धारित समयमा दुवै टिमबाट २-२ गोल भई खेल बराबरीमा अडिएपछि टाइब्रेकरमा दार्जीलिङले सेमीफाइनलमा प्रवेश गर्ने अवसर प्राप्त गर्‍यो ।
निकै प्रतिस्पर्धात्मक खेलको पूर्वार्द्धको २१ औं मिनेटमा हेमन्त मगरले गोल गर्दै पथरीलाई अग्रता दिलाएका थिए । डि वक्स भित्रबाट रुपेश तामाङले गरेको हेड बल बारमा लागेर फर्किएपछि मगरले रिवाउन्समा गोल गरेका थिए । तर त्यसको २ मिनेट वित्न नपाउँदै कंचनजंघाका करण थापाले डि बक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएपछि खेल एक एक गोलको बरावरीमा पुगेको थियो ।



२७ औं मिनेटमा विशाल तामाङले गोल गर्दै कंचनजंघालाई अग्रता दिलाएका थिए ।
पथरीले उत्तरार्द्धको सुरुवातबाटै आक्रमक खेल प्रस्तुत गर्‍यो । दोश्रो मिनेटमा पथरीका हेमन्त मगरले दोश्रो गोल गरेपछि खेल दुई दुईको बरावरीमा अड्किएको थियो ।
पथरीका तर्फबाट नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान संजीव बुढाथोकी, मच्छिन्द्रका अर्जुन बस्नेत, संकटाका कोमल खवास, रुपेश तामाङ सहितका राष्ट्रियस्तरमा खेल्ने खेलाडी सहभागि थिए ।

प्रतियोगिताअन्तर्गत भोलीको खेलमा झापा ११ र चर्च व्वाईज क्लब काठमाण्डौबीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष धनकुमार तामाङले जानकारी दिए ।


Comments