समयमै संविधान बनाउन सभामुखलाई महासंघको स्मरण पत्र





८ मंसीर, बिर्तामोड।
नेपाल पत्रकार महासंघ झापा शाखाले आज झापाका प्रमुख जिल्ला अधिकारीमार्फत संविधान सभाका अध्यक्षलाई समयमै संविधान निर्माणका लागि दवाव दिन स्मरण पत्र बुझाएको छ ।
महासंघका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीले हस्ताक्षर गरेको स्मरण पत्र महासंघको टोली आज जिल्ला प्रशासन कार्यालयमा पुगी निमित्त प्रमुख जिल्ल्ला अधिकारी रोहितराज पोखरेल र सहायक प्रमुख जिल्ला अधकारी कमलवहादुर थापालाई वुझाइएको हो ।
पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र समग्र पत्रकारिताको व्यावसायिक विकाससँगै संविधान निर्माणको तीन महिने विशेष अभियानका क्रममा उक्त स्मरण पत्र वुझाइएको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष नेम्वाङले बताए ।



स्मरण पत्रमा पछिल्ला दिनमा दलहरूबीच बढ्दै गएको असहमति र धु्रवीकरणले संविधानसभा कतै आफैंले बाचा गरेको समयसीमा २०७१ माघ ८ भित्र संविधान दिन फेरि पनि असफल हुने त हैन ? भन्ने गम्भीर आशंका उत्पन्न भएको उल्लेख गरिएको छ ।
पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गरी 'नेपाली जनतासँग गरेको बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं' भन्ने मूल आहृवानसहित महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेल, महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, माधव विद्रोही, उपाध्यक्ष तारामणि सापकोटा, मोहमद सदरुल, ज्ञानेन्द्र निरौला, इश्वर अधिकारी, पंकज शर्मा, उत्तम नेपाल, विगम श्रेष्ठ, रेवतीराज घिमिरे, द्रोण अधिकारी लगायतको संयुक्त टोलीले स्मरण पत्र वुझाएको थियो ।
सचिव गिरीले वाचन गरेको स्मरण पत्र अध्यक्ष नेम्बाङले हस्तान्तरण गरेका थिए ।








Comments