शुल्क बृद्धिको विरोध गर्ने विद्यार्थी अनुत्तीर्ण





विष्णु पौडेल, दमक।
झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्स अध्ययनरत तीनजना विद्यार्थी र तिनका अभिभावकले क्याम्पस प्रशासनले नियोजित ढंगबाट आफुहरुको अन्तीम परीक्षाको नतिजा विगारेको आरोप लगाएका छन् । लिखित परीक्षामा ७० प्रतिशत भन्दा धेरै प्राप्ताङ्क हासिल गरेका उनीहरुले क्याम्पस प्रशासनले नियतवश प्रयोगात्मक परीक्षाको नतिजामा अंक कम राखेर आफुहरुलाई अनुत्तीर्ण गराएको आरोप लगाएका हुन् ।
गएको कार्तिक २१ गते प्रकाशित नतिजाप्रति चित्त नबुझेको भन्दै उनीहरुले सोमबार दमकमा पत्रकार सम्मेलन गरेर आफ्नो गुनासो राखेका हुन् । पत्रकार सम्मेलन गर्ने विद्यार्थीहरुमा विनु निरौला, सुस्मीता दंगाल र सृष्टी सुवेदी रहेका छन् । ती विद्यार्थी र अभिभावकहरुले सामुहिक स्वरमा भने, 'सिटीइभिटीले तोकेको शुल्कभन्दा एक लाख रुपैयाँ धेरै शुल्क लाइफलाइनले लिन लागेको थियो, त्यसको विरोध हामीले गर्‍यौं, त्यसैलाई वदलाको भावना राखेर नियोजित रुपले परीक्षामा फेल गराइएको छ ।'



अभिभावकहरुले आफुहरुको लाखौं रुपैयाँ लगानी र छोरीहरुको भविष्यमाथि क्याम्पसले खेलबाँड गरेको आरोप लगाउँदै न्यायका लागि पहल गरिदिन सामुहिक अपिलसमेत गरे । सृष्टीका आमा गीता सुवेदीले सिटीइभिटीले तोकेको ३ लाख ९६ हजार रुपैयाँमा थप एक लाख रुपैयाँ क्याम्पसमा तिर्न क्याम्पसबाट बारम्बार फोन आएको बताउँदै पैसा नतिरे छोरीको भविष्य बर्बाद हुने सम्मको चेतावनी दिएको बताइन् । उनले आफुले सिटीइभिटीको केन्द्रीय कार्यालयमा समेत पुगेर बुझ्दा क्याम्पसले भने जस्तो थप रकम तिर्नु नपर्ने जानकारी पाएको र विद्यार्थी प्रयोगात्मक परीक्षामा उत्तीर्ण गराउने नगराउने भूमिका क्याम्पसकै हुने जानकारी दिएको बताइन् ।
विद्यार्थी विनु निरौलाले क्याम्पसमा बेला बेला प्रिन्सिपल भिम सुब्बाले गर्ने गरेको ब्यवहारले नै आफू अन्यायमा परेको महसुस हुँदै आएको बताइन् । निरौलाकी आमा शमुन निरौलाले छोरीको शैक्षिक भविष्यमाथि आघात पुग्ने गरी क्याम्पसले चालेको कदम नियोजित भएको आरोप लगाइन् । अभिभावकहरुले कलेजलाई दोष लगाउने गरी कुनै पत्रकार सम्मेलन गरे त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएको बताउँदै त्यसले क्याम्पसको खराब नियत प्रष्ट भएको पनि तर्क गरेका छन् ।




पाँच विद्यार्थी संगठनको आपत्ती
यसैबीच विद्यार्थीहरुमाथि लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्यायपूर्ण व्यवहार गरेको भन्दै झापाका विभिन्न पाँच विद्यार्थी संगठनले आपत्ती जनाएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, रा.प्र.वि संघ नेपालका जिल्ला तथा जिल्लास्थित अञ्चल कमिटीका नेतृत्वले संयुक्त पत्रकार सम्मेलन
गरेर लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानले नियोजित ढंगबाट नियमविपरीतको शुल्क असुलीको बिरोध गर्ने नेतृत्व गरेका विद्यार्थीलाई अनुत्तीर्ण गराएको पनि आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा अनेरास्ववियुका मेची अञ्चल कमिटी उपसचिव पदम न्यौपाने, नेविसंघका जिल्ला सभापति रोशन विष्ट, अखिल क्रान्तिकारीका झापा अध्यक्ष रवि बस्नेत, अखिल क्रान्तिकारी सिटीइभिटी पूर्वी जिल्ला अध्यक्ष अनिल सुवेदी र राप्रविसंघ नेपालका झापा जिल्ला संयोजक किरण
भण्डारीले विद्यार्थी हक हितका लागि आफुहरु शान्तिपूर्ण आन्दोलनमा होमिने चेतावनी दिए । उनीहरुले विद्यार्थी संगठनहरु र अभिभावक तथा पिडित विद्यार्थीको आग्रहलाई क्याम्पस प्रशासनले कमजोरी ठानेको निष्कर्ष निकालिएको पनि बताए । ती विद्यार्थी संगठनले संयुक्र रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा पूर्वाग्रह राखेर अनुत्तीर्ण गराइएका विद्यार्थीको नतिजा सच्याउन, २०७१ सालसम्म लाइफलाइनले विद्यार्थीबाट लिएको सिटीइभिटीले तोकेभन्दा बढी रकम फिर्ता गर्न र उच्चस्तरीय विद्यार्थी प्रतिनिधी सम्मिलीत आयोग गठन गरेर समस्याको समाधान खोज्न तीनदिने अल्टिमेटम दिएका छन् ।



लाइफलाइनको जिकीर
यसैबीच लाइफलाइन स्वास्थय विज्ञान प्रतिष्ठानले आफुमाथि लागेका आरोपको खण्डन गर्दै कुनै पनि आरोप तर्कसंगत र आधारसहितका नभएको जिकिर गरेको छ। प्रतिष्ठानका सञ्चालक समिति अध्यक्ष बालचन्द्र सुब्बाले विद्यार्थीहरु अनुत्तीर्ण हुनुका पछाडी क्याम्पसको कुनै हात नरहेको बताए । उनले सो सम्बन्धी नतिजामा चित्त नबुझेपछि सम्बन्धित विद्यार्थीले दिएको निवेदन सिटीइभिटीमा फरवार्ड गरिएको पनि जानकारी दिए । 'एउटा संस्थाले आफ्नो विद्यार्थी फेल होस भन्ने चाहना राखेको भन्ने कुरा नै आधारहीन छ', अध्यक्ष सुब्बाले भने । उनले आफ्नो संस्थाले सिटीइभिटीबाट तोकिएकोभन्दा बढी शुल्क नलिएको पनि तर्क गरेका छन् ।





Comments