पथरी गोल्डकपमा चर्च व्वाइजको विजयी सुरुवात





प्याराफिट भत्किँदा २७ घाइते

४ मंसीर, पथरी।
मोरङको पथरीमा सुरु भएको दोस्रो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय खेलाडीले भरिपूर्ण चर्च व्वाइज युनाइटेड विजयी भएको छ ।
आजको खेलमा डीसीटी सुनसरीलाई १-० गोल अन्तरले पराजित गरी चर्च व्वाइजले आफुलाई विजयी बनाउन सफल भएको हो ।
चर्च व्वाइजका लागि युरोपियन क्लबमा समेत आवद्ध भइसकेका अन्डर १६ का राष्ट्रिय खेलाडी विमल घर्तीमगरले २३ औं मिनटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
उनै विमललाई खेलको म्यान अफ दि म्याचबाट पुरस्कृत गरिएको छ ।
केही राष्ट्रिय खेलाडीसहित उत्रिएको डीसीटीले गोल गर्ने निकै कोशिस गरेपनि उसको प्रयास विफल भएको थियो ।



पथरी स्पोर्टिङ क्लबद्वारा मंसिर १३ गतेसम्म जाँतेमोडमा सञ्चालन हुने प्रतियोगिताको एक समारोहकाबीच मोरङ क्षेत्र नम्बर २ का सभासद चण्डी राई, पूर्व क्षेत्रीय प्रहरी प्रमुख नवराज सिलवाल सहितले उद्घाटन् गरे।
प्रतियोगिता सुरु हुनुपूर्व गायिका आस्था राउत, स्थानीय गायक जगत राई सहितको साँस्कृतिक प्रस्तुती रहेको थियो ।
दर्शकको सुविधाका लागि मैदानको ३ तिर बाँसको प्याराफिट बनाए पनि २ तिरको प्याराफिट भत्किँदा २७ जना दर्शक घाइते भएका छन् ।
भोलीको खेल आयोजक र भारतको दार्जिलिङस्थित कंचनजंघा फुटबल क्लबबीच हुने आयोजक समिति संयोजक धनकुमार तामाङले बताए।
प्रतियोगितामा काठमाडौंको नेपाल पुलिस, सरस्वती क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी बल तथा भारतको सिक्किमको सुनान्चु क्लबको समेत सहभागिता रहने छ ।
यता पूर्वाञ्चलबाट झापा ११ र आयोजक पथरी स्पोर्टिङ क्लबको सहभागिता रहने छ ।
गोल्डकपको विजेतालाई २ लाख २ हजार २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको ।




Comments