दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले देवालयभन्दा शौचालय महत्वपूर्ण रहेको बताएका छन् । उनले प्रत्येक वडामा मन्दिर बनाउन तम्सिने नगरवासीलाई शौचालय बनाउनसमेत आग्रह गरे ।
आज झापाको दमक १५ बुद्ध चोकमा नगर स्वास्थ्य केन्द्रको सेवा उद्धाटन समारोहका प्रमुख अतिथि समेत रहेका अधिकृत दहालले कार्यक्रममा यस्तो बताएका हुन् । उनले राज्यको खुल्ला दिसामुक्त अभियानलाई सफल पार्न सवैले सहयोग गर्नुपर्ने धारणा राखे । उनले स्वास्थ केन्द्रका लागि यसअघि नै केन्द्रबाट आएको १० लाख रूपैयाँमा नगरपालिकाले थप रकम प्रदान गरी केन्द्रको भवन निर्माणमा पहल गर्ने बताए।
कार्यक्रममा नेकपा एमाले दमक नगर कमिटी अध्यक्ष अम्विका खनाल, नेपाली कांग्रेसका उमाकान्त आचार्य, स्थानीय अगुवा कमल दहाल, लाइफलाइन अस्पतालका अध्यक्ष वालचन्द्र सुब्बा, स्वास्थ्य चौकी दमकका प्रमुख दुर्गादत्त गुरूङ, जग्गादाता सोमराज तामाङलगायतले नगर स्वास्थ्य केन्द्रको महत्वका बारेमा प्रकाश पारेका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय र दमक नगरपालिकाको सहयोगमा सञ्चालित दमकमा यो तेश्रो नगर स्वास्थ्य केन्द्र भएको समारोहका सभापति तथा नगरपालिकाका सामाजिक विकास अधिकृत डम्बर बरालले जानकारी दिए ।
केन्द्रको भवन नबनुञ्जेलसम्म जग्गादाता याम बहादुर अधिकारीको घरको एउटा कोठाबाट स्वास्थ्य सेवा उपलव्ध हुने गरी आजबाट नगर स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो ।
स्थानीय दाताहरू अधिकारी र सोमराज तामाङले स्वास्थ्य केन्द्रका लागि ४ बर्ष अगाडि नै तीन कठ्ठा जग्गा प्रदान गरेका छन् । उक्त जग्गा हाल नेपाल सरकारको नाममा दर्ता कायम भइसकेको जनाइएको छ । सोही अबसरमा स्थानीय मृगौला रोगी सुशीला बिश्वकर्मा राईलाई नगद ६ हजार ७ सय रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको थियो । रकम कार्यकारी अधिकृत दाहालले सुशीलाका परिवारलाई हस्तान्तरण गरेका हुन् ।
३ महिना अघिबाट मृगौलाको रोगबाट थलिएकी बिश्वकर्माको उपचारका लागि रकम संकलन गरिएको हो ।
Comments
Post a Comment