दमकमा चासोक तङनाम मनाइँदै






६ मंसीर, दमक।
किरात याक्थुङ चुम्लुङ दमकले क्षेत्रस्तरिय चासोक तङनाम मनाउने भएको छ । आउँदो मंसीर २० गते हुने लिम्बु जातिहरुको सो चाड भव्य तथा सामूहिक रुपमा मनाउने निर्णय गरेको छ । दमकको नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनमा बृहत चासोक तङनाम कार्यक्रम गर्ने तयारी थालिएको चुम्लुङ नगर अध्यक्ष गुमानसिंह सम्बाहाम्फेले जानकारी दिए । उनले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी थालिएको बताए।



चासोक कार्यक्रमअन्तर्गत विहानैदेखि न्वागी पूजा, लिम्बुहरुको च्याब्रुङ, धान नाच, हाक्पारे, साम्लो, छेलो खेल हुनुका साथै दिउँसो चुम्लुङको आजीवन सदस्यहरुलाई प्रमाणपत्रहरु समेत वितरण गरिने कार्यक्रम रहेको चुम्लुङ नगर सचिव देवेन्द्र चेम्जोङले जानकारी दिए।
कार्यक्रममा लिम्बुका परम्परागत परिकारहरुहरु पनि प्रस्तुत गरिने बताइएको छ । सो कार्यक्रम चुम्लुङ लखनपुर, तोपगाछी, धरमपुर, सतासीधाम, गौरादह लगायतका गाउँ शाखाहरुको समेत सहभागीता रहने सचिव चेम्जोङले बताए।
बर्षेनी रुपमा चुम्लुङले मंसीर २० गतेका दिनलाई चासोक तङनाम चाडका रुपमा विविध कार्यक्रम गरि मनाउने गर्दैआएको छ ।
यसैवीच चासोकका अवसरमा जिल्लाभरि बिभिन्न कार्यक्रमको आयोजना गरिने तय भएको चुम्लुङ जिल्ला अध्यक्ष टेकबहादुर आङदेम्बेले बताए। सो अवसरमा चुम्लुङका मेचीनगर, विर्तामोड, शनिअर्जुन नगरहरुसहित राजगढ, पृथ्वीनगर, गोलधाप लगायतका गाविसहरुमा समेत चासोक तङनामका कार्यक्रमहरु हुने भएका छन् ।

Comments