सुरुङ्गा गोल्ड कप शुरु, पहिलो खेल उर्लाबारीले जित्यो





२८ असोज, सुरुङ्गा।
सुरुङ्गामा मंगलबारदेखि शुरु सुरुंगा गोल्ड कपको दोस्रो संस्करणको उद्घाटन खेलमा धरान फुटबल क्लबलाई पराजित गर्दै उर्लाबारी फुटबल क्लब मोरङले विजयी यात्रा शुरु गरेको छ । निक्कै प्रतिष्पर्धात्मक बनेको खेलको दोस्रो हाफको २३ औं मिनेटमा उर्लाबारी फुटबल क्लबका जर्सी नम्बर १३ का खेलाडी रुपेश तामाङ्गले गोल्ड पोष्ट नजिकैबाट गरेको प्रहार गोलमा परिणत भएपछि उक्त गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।
खेल अवधिभर दुवै टिमका खेलाडीहरुले केही गोलका अवसरहरु सृजना गरेको भएपनि थप गोल हुन भने सकेन । प्रतियोगिताको म्यान अफ द म्याचसमेत गोलकर्ता उर्लाबारी फुटबल क्लबका तामाङ्ग बनेका थिए ।




सुरुङ्गा जेसिजद्वारा स्थानीय कनकाई उच्च माविको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन पूर्वाञ्चल क्षेत्रीय प्रशासक अन्नपूर्ण दासले गरेका थिए ।
बुधबार हुने खेलमा एनफाकप विजेता झापा ११ र आयोजक सुरुङ्गा बीच प्रतिष्पर्धा हुने खेल संयोजक देवेन्द्र रिसालले बताए ।
कार्तिक ४ सम्म सञ्चालन हुने गोल्ड कपका विजयी तथा उपविजयी हुने टिमले क्रमशः १ लाख ११ हजार १ सय ११ र ५१ हजार १ सय ११ रूपैयाँ प्राप्त गरैनेछन्।
गोल्ड कप प्रतियोगिता उद्धाटन कार्यक्रमका बीच गैर आवसीय नेपाली संघ, अष्ट्रेलियाका तर्फबाट हालै एन्फा कप विजेता टिम झापा ११ लाई नगद २ लाख ११ हजार रूपैयाँ संघका प्रवक्ता दिनेशकुमार पोखरेलले झापा ११ का प्रशिक्षक भगिरथ आले मामा र जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङलाई प्रदान गरेका थिए ।
उद्घाटन कार्यक्रम सुरुङ्गा जेसीजका अध्यक्ष शिवकुमार कँडेलको सभापतित्वमा सञ्चालन भएको थियो ।



Comments