दिनदहाडै १४ वटा रुख ढालिए




११ कार्तिक, दमक।
तिहारको व्यस्ततालाई मौका बनाउँदै झापाका सामुदायिक वनहरुमा तस्करहरुको समूहले दिनदहाडै जंगल फडानी गरेको खुलासा भएको छ । झापाको सतासीधाम-४, ५ र महमाई ९ को सतासीधाम सामुदायिक वनमा तिहार विदाको मौका छोपेर दिउँसो १२ बजेदेखि नै करीब ३ बजे सम्ममा १४ वटा हरिया रुख काटेर ढालिएको छ । रतुवामाई वृक्षारोपण आयोजनाको रेखदेख गर्ने क्षेत्र भित्र पर्ने सो वनमा दिनदहाडै रुख काटिनुले आयोजनाका कर्मचारी समेतको मिलेमतो रहेको उपभोक्ताहरुको आशंका छ ।

वन उपभोक्ता समूहको गस्ती टोलीले तस्करहरुलाई रंगेहात फेला पारेपछि उनीहरु फरार भएका थिए । उपभोक्ता समूहका उपाध्यक्ष प्रेम बरालको नेतृत्वमा गएको गस्ती टोलीले अवैध रुपमा कटान गरी चोरी तस्कर हुन लागेको १४ थान हरिया गोलिया, ८ वटा साइकल, एउटा आरा, एउटा तरवार, ३ वटा बन्चरो समेत बरामद गरेको वन उपभोक्ता समुहका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । सो क्रममा झापा धरमपुर-८ का बिशाल लिम्बुलाई नियन्त्रणमा लिइएको थियो । सो क्षेत्रमा कटान हुने अधिकांश हरिया रुख रातारात राजमार्ग दक्षिणतर्फ पर्ने केर्खा, झिलझिले, लखनपुर, दमक क्षेत्रका समिलहरुमा आइपुग्ने गरेको समाचार स्रोतको दाबी छ । 'कतिपय मिलमा त रुख काटिएको एक घण्टा पनि नभई टुना पुग्छ, तुरुन्तै मिलले आफ्नो टाँचा मारेर काठमाडौंसम्म पनि पुर्‍याउँछन्,' समाचार स्रोतले भन्यो ।
दिनदहाडै रुख काटिँदा पनि रेखदेखको जिम्मा लिएको रतुवामाई आयोजना तथा वन कार्यालयले समेत नियन्त्रणका लागि चासो नदिएको बताइएको छ ।



Comments