सन्ठी नहुँदा हुके हुक्का हरायो



सचिन भट्टराई,
५ कार्तिक, उदयपुर।
सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पुजाको दिन खेलिने हुके हुक्का खेल लोप भएको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केही बर्ष अगाडिसम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप भएको हो । पछिल्लो समयमा सनपाटको उत्पादन नगर्ने र लगाएको सनपाटले बजारभाउ नपाउदा कृषकहरुले सनपाट रोप्न छाडेपछि सन्ठीको अभावमा यो खेल लोप भएको थारु पण्डित बासुदेव चौधरीले बताए । सनपाठ गोड्ने ताल तलैया र व्यवस्थीत पोखरीको अभावमा पनि यसको खेती गर्न छोडिएको हो ।



पौराणिक किवदन्ती अनुसार परापूर्वकालदेखि खेल्दै आएको हुके हुक्का एक मुठा सन्ठीलाई बावियोले बाँधेर यो खेल खेलिन्थ्यो । 'घरको देउता कोठाको दलिनमा धान, चामलमाथि दियो राखी विधिवत पूजाआजा गरी खेल्ने चलन थियो, पण्डित चौधरीले भने, 'तर सन्ठीको अभावले यो खेल लोप भयो ।'
देउता घरको दलिनमा राखेको दियोमा हुके हुक्का बाली थारु शब्दमा 'अनधन लक्ष्मी घर ढुक दरिदर बहार हो' अर्थात् अन्न धनसहित लक्ष्मी घर पसुन र दरिद्री बाहिर हुन् भन्दै तीन पल्टसम्म मन्त्र पढेर हुके हुक्का सल्काउने गरिन्छ । यसरी सल्किसकेको हुके हुक्कालाई तीन फेरासम्म देउता घरको चारैतिर घुमी दोवाटो वा खाली चौरमा लगि खेल्ने चलन रहेको छ ।
आगोको राप तापले दरिद्री भाग्ने किदन्ती अनुरुप हुके हुक्काको प्रचलन रहेको र दियो अर्थात हुका बाली लक्ष्मीलाई स्वागत गर्ने मान्यता अनुरुप यो खेल खेल्ने गरिन्छ । यस खेलले केही दिनमा किसानहरुले आफुले लगाएको अन्नबाली भित्र्याउने दिन आयो भनेर संकेत गर्ने गर्दछ ।
नयाँ अन्नबाली राम्ररी सप्रियोस् भनी हुके हुक्काको जल्न बाँकी एक भाग जम्मा पारी दोवाटोमा जलाउने र बलेको आगोमा तीन पटकसम्म नाघेर आ-आफ्नो घर जाने चलन रहेको छ । एउटा एउटा जलेको हुके हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलन रहेको छ । तिनै बलेको एउटा हुके हुक्काको ठुटाले दरिद्री वा कुनै किसिमको छोइछुत नलागोस भन्दै ल्याउने गरिन्छ ।


Comments